काठमाडौं महानगर र सोसल साइन्स बहाः बीच हरिप्रसाद शर्माका चित्रहरुको उपहार पुस्तक प्रकाशनका लागि सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिकाले हरिप्रसाद शर्माका चित्रहरुको उपहार पुस्तक प्रकाशनका लागि सम्झौता गरेको छ । सोमबार आायेजित कार्यक्रममा पुस्तक प्रकाशनका लागि महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको रोहबरमा महानगरकातर्फबाट सम्पदा विभागका प्रमुख अर्चना श्रेष्ठ र सोसल साइन्स बहाः का तर्फबाट प्रा. निर्मलमान तुलाधरले हस्ताक्षर गरेका छन् ।
‘रानी पोखरीको पुननिर्माण गर्दा हामीले चित्रलाई नै आधार लिएका थियौं । चित्रलाई आधार लिएर पुननिर्माण गरेपछि अहिले सबैतिरबाट प्रशंशा भएको छ । यसको अर्थ अवस्थालाई जीवन्त बनाउन चित्र चाहिन्छ भन्ने हो ।’ हस्ताक्षरपछि प्रमुख शाक्यले भने— ‘हामीले व्यक्तिको योगदानलाई ग्रहण गरेका छौं । आशा छ । स्थानीय भाषा, धर्म, लिपी, नृत्य, बाद्यबादन, जात्रा पर्वजस्ता अमूर्त सम्पदा जोगाउने महानगरको नीति हो । चित्रहरुको उपहार पुस्तकले काठमाडौंमार्फत नेपालको अन्तरराष्ट्रिय स्तरमा चर्चा हुनेछ ।’
सोसल साइन्स बहाः का अध्यक्ष प्रा. तुलाधरले, पुस्तकको गुणस्तरमा कुनै कमी हुन नदिने बताए । त्यस्तै चित्रकार शर्माका छोरा विष्णुप्रसाद शर्माले नेपालको इतिहास भविष्यका लागि अभिलेखीकरण हुने भएकोले आफू खुशी भएको बताए ।
यी चित्रबाट काठमाडौंका अमूर्त सम्पदालाई अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन सहज हुने उनको भनाइ थियो । पुस्तकको प्रकाशक काठमाडौं महानगरपालिका र सहप्रकाशकमा सोसल साइन्स बहाः हुनेछ । चित्र र पुस्तकमा समेटिएको बौद्धिक सम्पत्तिको सर्वाधिकार चित्रकारलाई दिइएको छ । दोस्रो पक्षले अति बिशिष्ट १०० प्रति र बिशिष्ट २०० प्रति पुस्तक महानगरलाई उपलब्ध गराउनेछ । चित्रकारलाई रोयल्टीवापत् ३ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।