विर्तामोडका मेयर शिवाकोटीको विएण्डसी अस्पतालमा सफलतापूर्वक शल्यक्रिया
काठमाडौं । झापाको विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको विर्तामोडस्थित विएण्डसी अस्पतालमा शल्यक्रिया गरिएको छ । अचानक अस्वस्थ भई आइतबार भर्ना भएका मेयर शिवाकोटीको सोमबार घाँटीको मेरुदण्डको मूल नशा च्यापिएको परीक्षणबाट पत्ता लागेकाले शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजनप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
शिवाकोटीको पाँच घण्टा लगाएर शल्यक्रिया गरिएको थियो । शल्यक्रियामा अस्पतालका बरिष्ठ न्यूरोसर्जन एवं डेपुटी मेडिकल डाइरेक्टर डा. पंकजराज नेपाल, डा.रोविन भट्टराई, डा. दिनेश थापा, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ तथा अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजनप्रसाद पराजुली, एनेस्थेसियोलोजिष्ट डा. राजु श्रेष्ठ, वरिष्ठ फिजिसियन डा. लक्ष्मण ठाकुर तथा डा. निरजकुमार क्याललगायतको सहभागी थिए । शल्यक्रिया पश्चात शिवाकोटीको सघन कक्षमा राखी उपचार भइरहेको र हालको उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।