कोरोना परीक्षण गराएर मात्र तरकारी र फलफूल आयात गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश दिएको हो ।
त्यसैगरी सर्वोच्चले आन्तरिक रुपमा उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरण गर्न आदेश दिएको छ । कोरोना भाइरसको महामारीको समयमा पनि भारतबाट निर्वाध रुपमा तरकारी र फलफूल आयात भएको भन्दै अधिवक्ता मणिराम उपाध्याय, पदमबहादुर श्रेष्ठ, विकास भट्टराई लगायतले सर्वोच्चमा रिट दिएका थिए ।