मोदीको पुत्ला जलाएको आरोपमा पक्राउ परेका जनता दरवारका सारथी रिहा
काठमाडौं । राजनीतिक विकृति अन्त्य तथा भ्रष्टाचार विरोधी अभियान संचालन गर्दै आएका एक अभियन्ता एसपी शाह सारथी प्रहरी हिरासतबाट मुक्त भएका छन् । हिजो साँझ आफू हिरासत मुक्त भएको उनले सामाजिक संजालबाट जानकारी दिएका छन् । हिरासतमुक्त भएपछि सारथीले लेखेका छन्,
कोभिड १९ कोरोना संक्रमिक ब्यक्तिलाई स्वास्थ्य लाभको कामना र नेपालको भुमि लिपुलेकको रक्षाका निम्ति रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने नेपाली जनतालाई मेरो बिनम्र अनुरोध। लिपुलेकको भुमि भारतीय पक्षबाट मिचिएकोले जनता दरबारले भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्दा भारतीय दबाबमा मलाई ७ दिन सम्म हिरासतमा राख्दा यो सरकारको असली रुप बाहिर आएको छ। हिजो साँझ ५ बजे हिरासत मुक्त भएको छु ।
नेपाली भूमि लिपुलेकमा भएको भारतीय सीमा अतिक्रमण विरुद्ध केही दिन अघि राजधानीको कलंकीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्दा लकडाउनको उलंघन गरेको आरोपमा अभियन्ता सारथीलाई प्रहरीले पक्राउ गरेको थियो ।
जनता दरवार नामक संस्था मार्फत सारथीले भ्रष्टाचार विरोधी बिभिन्न अभियान संचालन गर्दै आएका छन् । सारथी निकटहरुका अनुसार उनलाई थप १० दिन हिरासतमा राख्ने गरी प्रहरीले म्याद थप गरेको भए पनि हिजै हिरासतमुक्त गरेको हो । उनले सीमा मिचिएको विरुद्ध सरकार र भारतीय कदमको तिव्र विरोध गर्दै केहीदिन अघि कलंकीमा विरोध प्रदर्शन सहित भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका थिए ।।