पूर्वडिआइजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका तालिम समादेशक महेशविक्रम शाह, लेखापाल प्रहरी सहायक निरीक्षण दिपेन्द्रप्रसाद पनेरु र लेखा सहायक केशव सिंह ऐरीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनीहरुले प्रहरी जवानको २०७२ साल माघ र फागुनको तलबभत्ता खर्च लेखी नगद निकाली भ्रष्टाचार गरेको पाइएको छ । उनीहरुले १०३ प्रहरी जवानको दुई महिनाको तलबभत्ता ३१ लाख ८८ हजार ४६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको एक लाख ४९ हजार ६१६ गरी कुल ३३ लाख ३८ हजार ८४ बराबरको रकम बदनियतसाथ हिनामिना गरी भागबण्डा गरेर लिएको आयोगको अध्ययनबाट खुलेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुविरुद्ध बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको छ । आयोगले कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जिव विशुङ्केविरुद्ध पनि सोही प्रकरणमा मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखाअधिकृत ध्रुवराज गौतमविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुले सरकारी रकम हिनामिना गरी आर्थिक लाभ लिने उद्देश्यले नक्कली बैंक ग्यारेन्टीका आधारमा ठेक्का सम्झौता र ‘मोबिलाइजेसन’ रकम भुक्तानी गरेको आयोगको आरोपत्रमा उल्लेख छ ।

आयोगले उनीहरुविरुद्ध दुई करोड दुई लाख ७३ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धुलिखेलका तत्कालीन बैंक प्रबन्धक राजुप्रसाद ढकालविरुद्ध पनि दुई करोड दुई लाख ७३ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

आयोगले सुनौला खिम्ती–अजम्बर–शिवराम जेभीका साझेदारहरु शिवराम कन्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्बर निर्माण सेवाका सञ्चालक बैकुण्ठप्रसाद भण्डारी र सुनौला खिम्ती कन्ट्रक्सनका प्रबन्ध निर्देशक धर्मराज भण्डारीविरुद्ध नक्कली बैंक ग्यारेन्टी पेश गरी आफ्ना प्रतिनिधिमार्फत झुठा विवरण पेश गरी सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ ।

आयोगले उनीहरुविरुद्ध दुई करोठ दुई लाख ७३ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । चरिकोट–दोलखा–विजयनगर खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता तथा मोबिलाइजेसन पेस्की लिने प्रयोजनका लागि उनीहरुले नक्कली बैंक जमानत राखेका थिए ।

साविक नेपाल खाद्य संस्थान, शाखा कार्यालय भैरहवाको धान कुटानका लागि राइस मिल जडान गर्ने प्रयोजनको क्रममा सम्झौताको शर्तअनुसार काम नगर्ने एक व्यापारिक संस्थालाई लाभ हुने गरी प्रक्रिया मिलाएको अभियोगमा आयोगले संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले श्रेष्ठविरुद्ध दुई लाख ३८ हजार ९५६ बराबरको बिगो दाबी गरेको छ । यस्तै संस्थानका खरिद इकाइ प्रमुख खड्गबहादुर ज्ञवालीले मिल सप्लायर्स एमएन इन्टरनेशनललाई कार्यसम्पादन जमानतको म्याद थप गर्न पटकपटक पत्राचार गरेको र अनियमित कार्यमा संलग्न रहेको पाइएकाले उनीविरुद्ध समेत आयोगले समान बिगो दाबी गरेको छ ।

यसैगरी आयोगले मेलम्ची नगरपालिका–१०, सिन्धुपाल्चोकमा रहेको हिरादेवी आधारभूत विद्यालयमा खानेपानी सेवा उपलब्ध गराउन सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक गणेश दाहाल, वडाध्यक्ष भक्ताबहादुर खड्का, नगरपालिकाका इन्जिनियर राजेशकुमार शर्मा र सवइन्जिनियर अनन्त दुलालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर चापागाईं, इन्जिनियर शर्मा, सव इन्जिनियर र प्रअ दाहालविरुद्ध छ लाख ६२ हजार ३९५ बराबरको बिगो दाबी गरेको छ भने एनपी हार्डवेयरका सञ्चालक प्रकाश दाहालविरुद्ध एक लाख तीन हजार २८२ बराबरको बिगो दाबी गरेको छ । बिक्री नै नगरेको निर्माण सामग्रीको बिल भरपाई बनाइ गैरकानूनी लाभ हासिल गरेको आरोप सञ्चालक दाहालविरुद्ध आरोप लागेको छ ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२० गते ।
————————————————-

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा मिति २०७२।०१।२७ गते प्रहरी जवान पदमा नयाँ भर्ना भई मिति 2072।०९।२२ गते तालिम समापन भएकोमा प्रहरी प्रधान कार्यालयको मिति २०७२।१०।११ गतेको पत्रले माघ महिनादेखिको तलव/भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरुको सरुवा भएकोमा उक्त तालिम केन्द्रका समादेशक महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता खर्च लेखी नगद निकाली खाई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आ.ब. २०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु तथा लेखा सहायक प्र.ह. केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२।१०।११ गतेको पत्रले माघ महिनाको तलव/भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलव भत्ता रु. ३१,८८,४६८/- र मिति २०७२।१०।१८ गतेको पत्रले ०७२ साल माघ ३ गतेबाट तलव भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्ति भएकोमा ०७२ साल माघ १ गतेबाट नै तलव/ भत्ता निकाली १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको २ दिनको बढी रु. १,४९,६१६/८८ (एक लाख उनन्चास हजार छ सय सोह्र रुपैयाँ अठासी पैसा) गरी जम्मा रु. ३३,३८,०८४/८८ (तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा) तलव भत्ता तलवी भरपाईमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाई नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निज आरोपितहरु महेश विक्रम शाह, दिपेन्द्र प्रसाद पनेरु तथा केशव सिंह ऐरीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको प्रमाणित भएकोले निजहरुले  हिनामिना हानिनोक्सानी गरेको बिगो रु.३३,३८,०८४/८८ (तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिइएको छ ।
साथै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, भत्ता तथा कट्टी रकमसमेतको भरपाईमा सरुवा भएका प्रहरी कर्मचारीको नाम उल्लेख गरी खर्च लेखेको तथा सरुवा तथा नयाँ नियुक्ति भएका प्रहरी कर्मचारीको पत्रहरु नहेरी खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निज सन्जिब बिशंखेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसुर गरेको हुँदा निज सन्जिब विशंखेलाई सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।