सात हजार घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङबाट एकजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ। विराटनगरको केशलीयामार्गस्थित सीआरभीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाललाई ७ हजार घुससहित पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
दाहालले सेवाग्राहीलाई विभिन्न खाद्य सामग्री ओसारपोसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। दाहाललाई प्रहरीले विराटनगर महानगरपालिका ६ घाँसचोकबाट नियन्त्रणमा लिएको हो।