राष्ट्रपतिबाट भगवान रामका जन्तीलाई जनकपुरमा स्वागत र सम्मान
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले रामसीता विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको प्रतीकात्मक भगवान् रामको जन्तीलाई शुक्रबार जनकपुरधाममा स्वागत र सम्मान गरेकी छन् ।
रामसीता विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघामा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत सम्मान गर्दै प्रतीकात्मक रूपमा रहेका सीता र रामलाई टीका लगाइदिएकी थिइन् ।
उनले प्रतीकात्मक मिथिला राजा जनककी धर्मपत्नी सुनयनालाई पनि सम्मानलाई गरेकी थिइन् । गोस्वामी तुलसीदासद्वारा लिखित ‘रामचरितमानस’ अनुसार त्रेतायुगमा बाह्रबिघामा नै धनुष यज्ञ हुँदा भगवान् रामले धनुषमा ताँदो चढाउँदा शिवधनुष खण्डित भएको थियो ।
सो अवसरमा मिथिला नाट्य कला परिषद्का कलाकारद्वारा जानकी लीला (फूलावारी प्रसङ्गदेखि स्वयंवर)को प्रस्तुति भएको थियो ।