सूर्यमा आँधी आउने क्रम किन बढ्यो ?


बीबीसी । सूर्यबाट यो वर्षको सबैभन्दा ठूलो ‘सोलर फ्लेअर’ अर्थात् सौर्य ज्वाला निस्किएको देखिएको छ । त्यसको तस्बिर नासाको ‘सोलर डाइन्यामिक्स अब्जर्भेटरी’ले खिचेको अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले बताएको छ ।

वैज्ञानिकहरूका अनुसार सूर्यबाट त्यसरी ज्वाला निस्किने क्रम बढेको छ। त्यस्तो ‘उच्च सक्रियता’ देखिँदा सूर्यबाट ‘चार्ज’युक्त कणहरूको निरन्तर प्रवाह हुन्छ र त्यो पृथ्वीसम्म आइपुग्छ । त्यसलाई ‘सौर्य आँधी’ भनिन्छ । त्यसले पृथ्वीमा प्रयोग हुने प्रविधिलाई हानि पुर्याउन सक्छ, कहिलेकाहीँ विद्युत् आपूर्ति नै अवरुद्ध गरिदिन सक्छ ।

अन्तरिक्षमा भएका यात्रीहरूमाथि दुष्प्रभाव पर्न सक्छ तर पृथ्वीमा भएका मानिसलाई हानि पुग्दैन । सौर्य आँधी सूर्यको चक्रको स्वाभाविक घटनाक्रम हो। ‘सोलर फ्लेअर’ र ’कोरोनल मास इजेक्शन’ (सीएमई) का रूपमा ठूलाठूला विस्फोट हुँदा अन्तरिक्षमा प्रकाश, ऊर्जा र सौर्य पदार्थहरू हुत्तिएर निस्किन्छन् ।

सोलर फ्लेअर अर्थात् सौर्य ज्वाला सूर्यबाट प्रकाशको गतिमा आउने ‘इलेक्ट्रोम्याग्नेटिक रेडिएशन’ अर्थात् विद्युत–चुम्बकीय विकिरण हो। त्यो विकिरणलाई पृथ्वीसम्म आइपुग्न केवल आठ मिनेट लाग्छ । सोलर फ्लेअरहरू प्रायजसो सीएमईहरूसँग निस्किन्छन्।

चार्जयुक्त ऊर्जाको ठूलो लप्का भए पनि सीएमई प्रकाशजति गतिवान हुँदैन । सौर्य आँधीहरू पृथ्वीसम्म आइपुग्दा तिनको शक्तिमा भिन्नता आइसकेको हुन सक्छ । सूर्यबाट आएको ऊर्जाका कारण ’ओरोरा’ भनिने रङ्गीन र चम्किलो आकाश देखा पर्न सक्छ। ‘ओरोरा’लाई ’सदर्न लाइट्स’ वा ’नोर्दर्न लाइट्स’ भनेर पनि चिनिन्छ ।

नासाका अनुसार सूर्यबाट निस्किने ज्वाला र विस्फोटन हुँदा निस्किने विकिरणले पृथ्वीमा विद्युत प्रसारणका ग्रिड, हवाईजहाज र पानीजहाजमा जडित दिशा पहिल्याउन सघाउने संयन्त्रबाट उत्पन्न हुने सङ्केत र रेडियो सञ्चारमा प्रभाव पार्न सक्छन् ।

सन् २०१७ मा सूर्यको सतहबाट निस्किएका दुईवटा विशाल ज्वालाले पृथ्वीमा जीपीएस न्याभिगेशन प्रणालीजस्ता उपकरणहरूमा अवरोध सिर्जना गरिदिएका थिए । सन् २०११ को फेब्रुअरीमा निस्किएको एउटा शक्तिशाली सौर्य ज्वालाले चीनमा रेडियो सञ्चारलाई खलबल्याइदिएको थियो ।

सन् १९८९ मा सौर्य फ्लेअरका कारण क्यानडाको क्युबेक प्रान्तमा नौ घण्टा विद्युत् आपूर्ति अवरोध हुँदा लाखौँ मानिस प्रभावित भएका थिए । सन् १८५९ मा सूर्यमा भएको ठूलो विस्फोटनले ‘भूचुम्बकीय आँधी’ उत्पन्न भएको थियो।

त्यसले भिक्टोरिअन रेलमार्गका सङ्केतहरू र टेलिग्रामका लाइनहरूलाई खलबल्याइदिएको थियो । अहिले पनि त्यस्तो आँधीको खतरा छ। ल्यान्क्यास्टर यूनिभर्सिटीले गरेको एउटा अध्ययनले त्यस्तो आँधी उत्पन्न भएको खण्डमा बेलायतको रेल सञ्जाल प्रभावित हुन सक्ने चेतावनी दिएको छ।