नासाद्वारा चन्द्रमामा जाने २८ अर्ब डलरको योजना सार्वजनिक



अमेरिकी अन्तरिक्ष संस्था नासाले २८ अर्ब अमेरिकी डलर खर्च हुने एउटा योजना सार्वजनिक गर्दै सन् २०२४ मा चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक गरेको छ । उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओराल्ने योजना समावेश गरिँदैछ । आर्टिमस नाम दिइएको त्यस अन्तरिक्ष कार्यक्रममा नासाले पाँच दशकपछि चन्द्रमामा पठाउन एक पुरुष र एक महिलालाई पठाउँदैछ ।

चन्द्र सतहमा यसअघि सन् १९७२ मा अन्तिम पटक मानव पाइला टेकिएको थियो । नासाको समयरेखा उक्त कार्यक्रमको एउटा अवतरण प्रणाली बनाउन अमेरिकी संसद्ले ३.२ अर्ब कसरी निकास दिन्छ भन्ने कुरामा निर्भर हुन्छ । अन्तरिक्षयात्रीहरू ओरीअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्नेछन् । त्यसलाई एसएलएल नामक शक्तिशाली रकेटले प्रक्षेपण गर्नेछ ।

अन्तरिक्षयात्रीहरू अरिअन नाम दिइएको अपोलोजस्तै यात्रुहरू बस्ने भाग (क्याप्सुल) मा चन्द्रतर्फ पुग्नेछन् । नासाका प्रशासक जिम ब्रिडेन्सटिनले २८ अर्ब डलरले आर्टिमस कार्यक्रमको आउँदो चार वर्षको खर्च समेट्ने बताए । त्यसमा रकेट, क्याप्स्यूल, मानव अवतरण प्रणाली र अन्तरिक्षयात्रीले लगाउने परिधानको खर्च जोडिन्छ ।

उनका अनुसार ३.२ अर्ब डलर सन् २०२१ को मानव अवतरण प्रणालीका लागि भएको र त्यसैले त्यो रकमको ठूलो रणनीतिक महत्व छ । अमेरिकाको तल्लो सदनले यसअघि नै एउटा विधेयक अनुमोदन गर्दै चन्द्रमामा अवतरण गर्ने यानको लागि ६० करोड डलर छुट्याएको छ । तैपनि त्यो यान निर्माणको काम पूरा गर्नका लागि नासालाई थप रकम चाहिनेछ ।

सन् २०१९ को जुलाई महिनामा नासाका प्रशासक ब्रिडेन्सटिनले सीएनएनसँग कुरा गर्दै चन्द्रमा पुग्ने महिला अन्तरिक्षयात्री कस्तो हुने भनेर खुलाएका थिए । उनको भनाइमा ती महिला ‘राम्रोसँग अन्तरिक्ष उडानको अनुभव भएकी र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसिसकेकी’ व्यक्ति हुनेछिन् । उनले ती महिना अन्तरिक्षयात्रीको समूहमा परिसकेकी व्यक्ति हुने जनाएका थिए ।

यस अन्तर्वार्ताको समयमा त्यस्ता १२ सक्रिय महिला अन्तरिक्षयात्री छन् । उनीहरूसँग गत वर्ष मात्र नासाबाट तालिम पूरा गरेका पाँच महिला पनि थपिएका छन् । उनीहरू सन् २०२४ सम्म चन्द्रमामा जान आवश्यक मापदण्डमा पर्छन् कि पर्दैनन् भन्ने स्पष्ट छैन । चन्द्रमामा जाने अन्तरिक्षयात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुई वर्षअघि हुने बताइएको छ ।

चन्द्रमामा पुनः मानिसलाई पठाएर ह्वाइट हाउसले अन्तरिक्षमा आफ्नो देशको अग्रता नवीकरण गर्न चाहेको छ । अमेरिकाले चन्द्रमाको दक्षिणी ध्रुवबाट महत्वपूर्ण मानिने हिउँ खोज्ने योजना बनाएको छ । त्यो भेटियो भने चन्द्रमामै रकेटलाई चाहिने इन्धन बनाउन प्रयोग गर्न सकिनेछ । पृथ्वीबाटै इन्धन बोकेर लैजानुभन्दा सस्तो समेत हुने त्यस्तो कामले चन्द्रमामा आधारित हुने अर्थतन्त्रको आधार तयार पार्नेछ ।

तर उपराष्ट्रपति माईक पेन्सले चीनको अन्तरिक्ष महत्वाकांक्षा जोडेर चासो व्यक्त गरिरहेका छन् । सन् २०१९ को जनवरीमा चीन चन्द्रमाको त्यस्तो कुनामा रोबटसहितको यान नियन्त्रित रूपले उतार्न सफल भएको थियो । उक्त मिशनले चन्द्रमाको माटो पृथ्वीको प्रयोगशालाका लागि ल्याउने तयारी गर्दैछ ।

चीनले अहिले त्यस्तो अन्तरिक्षयान विकास गरिरहेको छ जसमा चिनियाँ अन्तरिक्षयात्रीहरू चन्द्रमाजस्तो भित्री अन्तरिक्ष गन्तव्यमा पुग्न सक्नेछन् । चीनको लक्ष्य सन् २०२४ भित्रै त छैन तर यो दशकको अन्त्यसम्ममा उसले त्यस्तो लक्ष्य बनाउन सक्ने ठानिएको छ । नासाको योजनाअनुसार पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ को शरद् याममा हुनेछ ।

आर्टिमस १ नाम दिइएको उक्त यान चन्द्रमाको फेरो लगाएर फर्कनेछ । नासाकी ह्यूमन स्पेसफ्लाईट प्रमुख क्याथी ल्विडर्सका अनुसार एक महिना त्यसरी बिताउँदा उक्त यानले सबै महत्वपूर्ण प्रणालीहरूको परीक्षण गर्नेछ । आर्टिमस २ ले भने चन्द्रमाको परिक्रमा गर्ने त्यस्तै उडान तर यात्रुसहित गर्नेछ ।

यस मिशनमा थपिएको नयाँ सुविधामा रकेटबाट ओरीअन छुट्टिएपछि चन्द्रमामा अवतरण र उडानका लागि यात्रुले अन्तरिक्षयानलाई आफैँ नियन्त्रणमा लिन सक्नेछन् । उक्त सुविधाले ओरीअनको काम गर्ने क्षमतालाई बलियो बनाउनेछ । आर्टिमस ३ भने झन्डै ४८ वर्षअघि अपोलो १७ पुगेपछि चन्द्रमामा मानिस अवतरण गराउने पहिलो मिशन हुनेछ ।

नासाले विभिन्न कम्पनीलाई ९०.७ करोड डलर दिएर चन्द्रमामा अवतरण गर्ने यानको डिजाइन र निर्माणको जिम्मा दिएको छ । यो दशकको अन्त्यतिर नासाले चन्द्रमामा मानव आधार केन्द्र बनाउने योजना बनाएको छ । आर्टिमस आधार शिविर नाम दिइने त्यस्तो कार्यक्रममा चन्द्रमामा लामो समय बिताएर खोज(अध्ययन गर्ने पूर्वाधार बनाइनेछ ।

सन् १९६० र ७० को दशकमा अपोलो कार्यक्रमका लागि अहिलोको मुद्रास्फीतिसँग समायोजन गर्दा २५० अर्ब डलरभन्दा बढी रकम खर्चिएको थियो । तर नयाँ योजनाको लागि छुट्याइएको बजेटमा ओरीअन यान र अन्तरिक्ष प्रक्षेपण प्रणाली अर्थात् एसएलएस रकेटमा पहिल्यै खर्चिएको रकम समाविष्ट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको आणविक केन्द्रमा आक्रमण नगर्ने अमेरिकालाई इजरायली आश्वासन

वासिङ्टन । इजरायलले ह्वाइट हाउसलाई इरानमा नियोजित जवाबी आक्रमणका क्रममा त्यहाँको आणविक वा

उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’ रहेको रुसको भनाई

मस्को ।  क्रेमलिनले उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ

भारतीय विदेशमन्त्री पाकिस्तानमा

इस्लामाबाद । भारतीय विदेशमन्त्री सुबह्मण्यम जयशङ्कर मङ्गलबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनका

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

वासिङ्टन । आइएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुनसक्ने चेतावनी दिँदै