बाजुरामा भएको सीमा विवादमा घाइते ४ जनाको हेलिकप्टरमार्फत उद्धार


बाजुरा । बाजुराको हिमाली गाउँपालिका –३ लाम्पाटामा भएको झडपमा घाईते ६ जना मध्ये ४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादमा दुई जिल्लाका स्थानीयबीच भएको विवादमा घाईते ४ जनालाई घण्टौंपछि उद्धार गरि सुर्खेत लगिएको हो ।

झडपमा परेर घाइते भएका हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

झडपमा प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा समेत घाइते भएका थिए ।

हुम्लाको नाम्खा,ताजाकोट, सर्केगाड र खार्पुनाथको सिमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको विवाद सिर्जना गरेका थिए ।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल,हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की,प्रशासकीय अधिकृत सहित ४० जनाको टोली रानिसैन हिँडेको बेला झडप भएको थियो ।

ड्रोनबाट भिडियो खिच्ने क्रममाः हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका २ थाली गाउँका करिब तीन सय बढी स्थानीय आक्रोहित भई वादविवाद र हातपात हुँदा पाँच जना घाइते भएका थिए । हुम्ली जनताले आक्रोशमा आई निन्दनीय घटना घटाएका हुन् ।

विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका –३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्लीबासीहरुले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन् । रानीसैन, च्याचौर र लाम्पाटा क्षेत्र नापी,लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार बाजुरा जिल्ला अन्तर्गत पर्ने भूमि हो ।