तीन तर्क र एक तथ्य


विष्णु रिजाल ।
हजारौँ तर्कलाई एउटै तथ्यले काट्छ । मैले पार्टीभित्र र सार्वजनिक रुपमा बोल्दै, लेख्दै र पैरवी गर्दै आएका तीनवटा तर्कलाई हालै सम्पन्न निर्वाचनले गलत सावित गरिदिएको छ । जसरी भाषाको विकासले व्याकरणका नियमलाई पनि परिमार्जन गर्दछ, त्यसैगरी परिस्थितिमा आएको बदलावले हाम्रा तर्कहरुमा पनि परिमार्जन गरिदिन्छ ।

पहिलो– विद्यमान मिश्रित निर्वाचन प्रणालीबाट कुनै एक दलले बहुमत ल्याउँदैन । यसो भन्नुका पछाडि २०१५ सालदेखि दलहरुले पाएको मत प्रतिशतलाई आधार बनाएको थिएँ । कांग्रेस, कम्युनिस्ट र मधेसवादी दलहरुका आ–आफ्ना जनाधार भएको र त्यसमा आमूल परिवर्तन नहुने अवस्थालाई केलाएर कुनै एक दलले बहुमत ल्याउन असम्भव छ भन्दै र लेख्दै आएको थिएँ । तर, यस निर्वाचनले इतिहासको त्यस सच्चाइलाई सच्याइदिएको छ र रास्वपालाई दुई तिहाई मत दिएको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुनै दल सीधै दुई तिहाइमा पुग्ला भन्ने अनुमान हाम्रो राजनीतिक समझभित्रको विषय थिएन ।
दोस्रो– नेपालमा नयाँ दल निर्माण सम्भव छैन ।

यसो भन्नुका पछाडिको मुख्य तर्क थियो– ७५ बर्षको इतिहास भएका दलहरुको पकड आधारभूत तहसम्म व्यापक छ । नेपाली समाज राजनीतिक रुपमा ध्रुवीकृत छ । शिक्षक, कर्मचारी, अवकाशप्राप्त सेना–प्रहरी, आमा समूह, बाल क्लबदेखि उपभोक्ता समितिसम्ममा मानिसहरु या कांग्रेस छन् या त कम्युनिस्ट छन् । यस्तो अवस्थामा कुनै नयाँ दल एकाएक बन्छ भन्ने कुरा राजनीतिक व्याकरणले निष्कर्ष निकाल्न दिएको थिएन। तर, यो विश्लेषण र अनुमान यसपटक गलत सावित भएको छ ।
तेस्रो– नेपालमा लोकप्रियतावादले काम गर्दैन ।

०७९ सालमा बालेन साहले काठमाडौँको मेयर जितेपछि र रवि लामिछानेले पार्टी स्थापना गरेको छ महिनामै संसद्मा २० सिट हासिल गरेपछि उत्पन्न परिस्थितिलाई अति सामान्यीकरण गरिएछ । ती दुबै युवालाई लोकप्रियतावादका उपज मात्र हुन्, पानीका फोका जस्ता हराउँछन् भनेर प्रशिक्षित भइएछ/गरिएछ । उनीहरु उभिन लागेको राजनीतिक धरातल, आर्थिक–सामामाजिक मनाविज्ञान, भूराजनीतिक सल्बलावट जस्ता कुरामा ध्यानै दिइनछ । नेपाली समाज राजनीतिक रुपमा परिपक्व भएका कारण सस्ता कुराका पछि लाग्दैन भन्ने एउटा मात्र मान्यतामाथि धेरै विश्वास गरिएछ, जुन कुरा जनताले गलत सावित गरिदिए । बाँकी हेर्दै जाऔँ ।