मधेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा राष्ट्रपतिसमक्ष शपथ


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रदेश प्रमुख कर्णलाई शपथ गराएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेश प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिसमा कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेका राष्ट्रपतिले आज शपथ गराएका हुन् । संविधान प्रतिकूल हुनेगरी मधेशमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै विवाद भएपछि सरकारले सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

उनले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटलमा शपथ गराएपछि मधेशमा तनाव सिर्जना भएको थियो ।