नयाँ सरकार गठन गर्दा संविधानबाहिर नजान राजनीतिक दलनिकट युवा संगठनहरूको माग


काठमाडौं । प्रमुख दलका युवा संगठनले जेनजीको आन्दोलनपछिको परिस्थितिमा संविधानभित्रैबाट समाधान निकाल्नुपर्ने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेसनिकट तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेकपा एमाले निकट युवा संघका अध्यक्ष क्षितिज थेबे, नेकपा माओवादी केन्द्र निकट वाईसीएलका अध्यक्ष पुष्प ओली, नेकपा एकीकृत समाजवादी निकट युवा संघका अध्यक्ष रोशन थापा र राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, ,‘विगतका आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गर्दै मात्र निकास खोजिनुपर्छ। लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य कमजोर नबनाइने र संविधानभित्रैबाट समाधान निकालिनुपर्छ।’

उनीहरुले जेनजीले प्रस्तुत गरेका प्रमुख मागहरू भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिताको पक्षमा आफूहरूको स्पष्ट समर्थन रहेको जनाएका छन् । त्यस्तै उनीहरूले सुरक्षा निकायहरूको भूमिका शंकास्पद रहेको भन्दै यसबारे गम्भीर समीक्षा र्नुपर्ने माग गरेका छन्।

साथै उनीहरुले टोलटोलमा सुरक्षा समितिको गठन गरी विध्वंसकारी गतिविधि रोक्न स्थानीय समुदायलाई सक्रिय हुन पनि अपील गरेका छन् । प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि मुलुकका विभिन्न ठाउँमा तोडफोड, आगजनी, हिंसा र लुटपाटजस्ता गतिविधि भइरहेको उल्लेख गर्दै संगठनहरूले यसलाई आन्दोलनको शुद्धतामाथिको प्रहार भनेका छन्।