शान्तिपूर्ण मत राख्न र प्रदर्शन गर्न पाउने अधिकारको सम्मान हुनुपपर्छ : नेता राणा


काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ नेता पशुपति शम्शेर जबराले बहुदलीय प्रजातन्त्र र मानव अधिकारका आधार शिलाका रूपमा रहेको शान्तिपूर्ण मत राख्न र प्रदर्शन गर्न पाउने अधिकारको हनन् नगर्न सरकारलाई सुझाव दिएका छन् ।

आगामी नयाँ वर्ष विसं २०८२ को पूर्वसन्ध्यामा पत्रकारसँगको भेटघाट तथा शुभकामना आदानप्रदानमा उनले मानव अधिकार र प्रजातान्त्रिक मूल्यमान्यता प्रतिकूलका कार्यले देश आजकतातर्फ जानसक्ने पक्षलाई हेक्का राख्न आग्रह गरे ।

संवैधानिक राजतन्त्र, सनातन हिन्दूराज्य, भ्रष्टाचार अन्त्यजस्ता माग राखेर चैत १५ गते तिनकुनेमा भएको प्रदर्शनीप्रति राप्रपाको समर्थन रहेको जनाउँदै पार्र्टीका संस्थापक एवं सांसद जबराले त्यस आन्दोलनका क्रममा पक्राउ परेको पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद डा धवल शम्शेर राणालगायतको निःर्शत रिहाइको माग गरे ।

घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोगको माग गर्दै उनले भने, “मैले पढेको र सोचेको थिएँ, बहुदलीय व्यवस्था एक उदार व्यवस्था हो, यहाँ सबैले आफ्नो फरक मत राख्न पाउँछ । सहिष्णुतासहित अल्पमतको कदर हुन्छ ।”

राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई मार्गदर्शक सिद्धान्त मानेर राप्रपा गठन भएको प्रसङ्ग उल्लेख गर्दै पूर्वमन्त्री जबराले बहुदलीय व्यवस्थाको यही मर्मलाई स्वीकार गर्दै स्थापनाकालदेखि नै राप्रपा सोही मूल्यमान्यताभित्र रही राजनीतिक अभ्यास गरिरहेको उल्लेख गरे ।