ओलीले बोलाए केन्द्रीय कमिटी बैठक
काठमाडौं । आइतबार सहमति सार्वजनिक गर्ने तयारीका साथ बसेको नेकपा एमाले विवाद समाधान कार्यदलले साँझसम्म कुनै सहमति जुटाउन सकेन । आज सहमति भएमा स्थायी कमिटीबाट अनुमोन गराउने तयारी गरेर अपराह्न ४ बजेका लागि राखिएको स्थायी कमिटी बैठक सोमबारसम्मका लागि सारिएको छ ।
पार्टी केन्द्रीय कमिटीको बैठक भने असार २९ गते बिहान ११ बजेका लागि डाकिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान ९ बजेदेखि रातिसम्म बसेको कार्यदल बैठकमा केके छलफल र सहमति भयो भन्नेबारेमा नेताहरुले खुलाएका छैनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले काम गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनपछि एमालेमा विवाद बल्झिएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले दललाई २०७५ जेठ २ गतेका स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।