सरकारको अधिनायकवादी शासनकाविरुद्ध आन्दोलन गर्ने विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनको निर्णय
काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त रुपमा सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनको विरुद्ध तथा संसद् पुनःस्थापनाको माग गर्दै असार १६ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने र १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहनसहित संयुक्त विद्यार्थी प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।
संयुक्त संघर्ष समितिको सोमबार बसेको बैठकले विश्व विद्यालयमा देखिएका शैक्षिक समस्याको बारेमा असार १५ गते त्रिभुवन विश्व विद्यालयका उपकुलपति समक्ष र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षसमक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले लकडाउन अवधिको सम्पूर्ण शुल्क राज्यले बहन गरी विद्यार्थीलाई शुल्क नथोपर्न माग गरेको छ । बैठकले मनपरी शुल्क थोपरिएमा निजी शैक्षिक संस्था बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । विद्यार्थी संगठनले मन्त्री पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीबाट संविधान र कानुनलाई चुनौति दिने गरि गरिएको हर्कतको बिरोध गर्दै दलित आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।