प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिएका हुन् ।
उनले कसैले हटाएपनि नेकपा एमाले आगामी निर्वाचनबाट दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने दाबी गरे । उनले भने, ‘लगभग दुईतिहाई लिएर सिंहदरबार पस्छौँ । १९ महिना पछि । अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस् । जालझेल गरोस् । षडयन्त्र गरोस् । मोर्चा कसोस् । मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् ।’ उनले माधव नेपाल र झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताए । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडी बढ्ने भन्नेबारे सल्लाह गरिने उनको भनाई छ ।
उनले भने, ‘उहाँहरु कता जानुभयो ? कता जान हिड्नुभएको थियो ? बाटामा तगारो आयो अरे । तगारो आएपछि कसैले फर्क भन्दियो अरे । फर्किदै हुनुहुन्छ अरे । ठिक छ फर्किनुस् । आउनुस् । केही गरिदिया छैन उहाँहरुलाई । उहाँहरुले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन ७ गते बैठक बोलाइएको छ । आउनुस् । छलफल गरौँला । कसरी अगाडी बढ्ने बढौला ।’
प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रुपमा आव्हान गरे । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उनले बताए । उनले भने, ‘हिजो हामी केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाँबाट रुवाबासी गर्दै अदालतको फैसला पछि बिदावारी भएर हिड्नु भएको थियो रे । अर्याल होटलसम्म आइपुग्नु भाको छ त्यहाँ एक दुई रात बास बस्नुभाको भन्ने सुनियो । बैठकमा आइपुग्नु भको छैन । प्रसस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु ।’
प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडी बढ्न नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्तालाई पनि आग्रह गरे । एमालेहरुलाई पनि सच्चिएर आउन आग्रह गर्दै केपी ओलीलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस लाग्ने पनि उनले बताए ।