विवेकशील साझाद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग
काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको तत्काल राजीनामा माग गरेको छ । पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी प्रधानमन्त्री र राष्ट्रपतिलाई तत्काल राजीनामा दिन माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ । अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई हामी आह्वान गर्दछौँ।’
अदालतको फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको र अधिनायकवादी शैलीमा मुलुक हाँक्ने कुत्सित मनोकांक्षाको अवसान भएको उसले बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अदालतको कदमले संविधानवादको रक्षा भएको छ, विधिको शासनको पुनर्बहाली भएको छ र मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको छ। यो सँगै हाम्रो न्यायालय कुनै पनि खाले दबाब र प्रभावबाट मुक्त रहँदै स्वतन्त्र निर्णय गर्न सक्षम छ भन्ने महत्वपूर्ण सन्देश पनि प्रवाह भएको छ।’
उसले विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा कुनैपनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । पछिल्लो समय असंवैधानिक ढङ्गले गरिएका सम्पूर्ण नियुक्तिहरू खारेज गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ ।