अनेरास्ववियूद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड नेपाल समूह निकटको अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी अनेरास्ववियूले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउनेदेखि मन्त्रीहरुका सार्वजनिक कार्यक्रम बहिष्कार गर्नेलगायतका रहेका अनेरास्ववियूका संयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।
माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने, माघ २९ गते सुरक्षा प्रमूख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिने, माघ २१ गते क्याम्पस अगाडि कालो झण्डा सहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र यूवामार्च, माघ २५ गते केपी ओलीलाई विरोधपत्र बुझाउनेलगायत रहेका छन् ।
तेस्रो चरणका संघषका कार्यक्रमहरु :
१. २०७७ माघ १६ गते शहीद पार्कमा श्रद्धाञ्जली सभा ।
२. माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने ।
३. माघ २९ गते सुरक्षा प्रमूख, संवैधानिक निकाय र कर्मचारी प्रशासन लाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने ।
४. मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने ।
५. मन्त्रीहरुका गाडी चल्न नदिने ।
६. माघ २१ गते क्याम्पस अगाडि कालो झण्डा सहित ३० मिनेट चक्काजाम गर्ने ।
७. माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र यूवामार्च ।
८. माघ २५ गते केपि ओलीलाई विरोधपत्र बुझाउने ।
९. कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्नु पर्ने ।
१०. लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सुचार गर्न दवावमुलक कार्यक्रम गरिने छ ।
११. कोभिडका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दबाब दिने ।
१२. अहिले सम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फिर्ता गर्न दबाब दिने शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्दछौं ।
१३. यस वर्षको हकमा शैक्षिक सत्र समायोजन गरी पठनपाठनलाई थप ब्यवस्थित गर्न सम्बन्धित निकायलाई माग गर्दछौं ।
१४. उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न, शिक्षामा २० प्रतिशत बजेट विनियोजित गर्न, मौलिक हकको कार्यान्वयन गर्दै आधारभूत शिक्षा र स्वास्थ्य ग्यारेण्टी गर्न, प्रमाणपत्र धितो राखी १० लाख ऋण दिने व्यवस्था मिलाउन दबाब दिईने र राजनीतिक भागबण्डाबाट नियुक्ति भएका विश्वविद्यालयका पदाधिकारीहरुलाई राजिनामा दिई खुल्ला प्रतिस्पर्धाका लागि मार्ग प्रशस्त गर्न अपिल गर्दछौं ।
१५. मेडिकल काउन्सिल,नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल लगायत सबै काउन्सिलका परीक्षाहरु व्यवस्थित र पारदर्शी ढंगले प्रदेश स्तरबाट पनि सञ्चालन गरियोस् । यथाशक्य चाडो ईन्जिनियरिङ काउन्सिलको पनि प्रदेशिक संरचना तयार गरि सहज बनाईयोस ।
१६. कोभिडको कारणले प्रभावित भएको शैक्षिक अवस्थालाई ध्यानमा राखेर त्रिवि लगायत सबै विश्वविद्यालयका सबै तह र संकायका प्रवेश परीक्षाहरुलाई सरोकारवालाहरुसँग छलफल गरी उचित निर्णय लिईयोस् ।
१७. प्रतिगमन बिरुद्ध जनता आन्दोलित भएको अवस्थामा आज बजारमा चौतर्फी महंगी बढेको छ,यसले जनजीवन झन् कष्टकर बनेकोले महंगी नियन्त्रण गर्दै बढ्दो भ्रष्टाचार र अनियमितता प्रति आँखा चिम्लने प्रतिगामी ओली सरकारको घोर भर्त्सना गर्दै भ्रष्टाचार नरोकिए भभ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्न अनेरास्ववियूका सम्पुर्ण कमिटीलाई निर्देशन गरिन्छ ।
अन्त्यमा प्रतिगमनका विरुद्ध भईरहेका सडक आन्दोलनहरुमा साथ सहयोग गरिदिनु हुन सम्पूर्ण अग्रगामी शक्तिहरुमा हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद ।
रञ्जित तामाङ
सहसंयोजक