काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लुटाहा सरकारका कारण नेपाली जनताले दुःख पाएका बताएका छन् । राप्रपाले शुक्रबार काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले जनताले सुशासन खोजेपनि कुशासन र भागवण्डाको राजनीतिका कारण मुलुक गम्भीर मोडमा पुगेको बताएका हुन् ।
उनले सत्ताको आडमा प्रतिनिधिसभाको विघटन गरी कानुन र संविधानको दुरुपयोग गरिएको भन्दै आपत्ति जनाए । राष्ट्रपति कार्यालय सिहंदरबारको कारिन्दाको कार्यालयमा परिणत भएको भन्दै अध्यक्ष लोहनीले राष्ट्रपतिको औचित्य समाप्त भएको बताए ।
उनले वर्तमान अराजक परिस्थितिबाट मुक्ति पाउन सबै दलहरुको मनस्थितिमा परिवर्तन आउनु आवश्यक रहेको बताए । अध्यक्ष लोहनीले राजसंस्था लगायत सबै राष्ट्रिय चरित्र भएको शक्ति र संस्थाहरुलाई राष्ट्रियता र विकासको महाअभियानमा ठाउँ दिन प्रजातान्त्रिक र देशभक्त व्यक्तिबीच नयाँ संवाद र वृहत प्रजातान्त्रिक एकता कायम गर्नु आजको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया