मन्त्रिपरिषद् पुनर्गठन छिट्टै : प्रवक्ता ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै नै हुने बताएका छन् । नेकपाको बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । यही पुस ५ गते सरकारका सात जना मन्त्रीले राजीनामा दिएका थिए । प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पारे । “प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो”, उनले भने ।
उनले अब पार्टीको एकमात्र एजेण्डा सङ्गठन विस्तार र निर्वाचनको तयारी रहेकोसमेत बताए । बैठकले यसअघि पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएकामा त्यो फिर्ता लिएको छ । उनले अर्को पक्षले गर्ने आन्दोलनको कुनै अर्थ नभएको स्पष्ट पारे । “जनमत जुटाउन जान छोडेर आन्दोलनका नाममा जनतालाई थप पीडा दिनु भनेको जनताबाट पलायन हुनु हो”, उनले भने, “उहाँहरुलाई म आग्रह गर्न चाहन्छु त्यो आन्दोलनको निर्णय फिर्ता लिनुहोस् ।”
अहिलेका प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको नेकपाको ६४ प्रतिशत संसद्मा रहेकाले प्रधानमन्त्रीमाथि दलको विश्वास नटुटेको बताए । “अहिले नेकपा पार्टी विभाजन भएको छैन । संसदमा ६४ प्रतिशत सांसद् रहेको दल अहिले पनि रहेको छ । उनीहरुले प्रधानमन्त्रीलाई विश्वास गरेको अवस्था छ”, प्रवक्ता ज्ञवालीले भने । उनले विघटन भएको संसद्भित्र संसदीय दल नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलबाट हटाउने कुरै नआउने बताए । प्रवक्ता ज्ञवालीले अहिले प्रदेश सरकारबारे केही सोच नबनाएको समेत स्पष्ट पारे
यस्तै स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले पार्टी नफुटोस् भन्ने पक्षमा आफू रहेको बताए । केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी फुटका लागि आधार तयार भइनसकेको भन्दै अहिले भइरहेका कतिपय काम दुर्भाग्यपूर्ण भएको बताए ।
उनले प्रधानमन्त्रीको ताजा जनादेशमा जाने कुरालाई सर्वोच्च अदालले समर्थन गर्छ भन्ने विश्वास प्रधानमन्त्रीमा रहेको स्पष्ट पारे । “सर्वोच्च अदालते के गर्छ पर्खौं, तर प्रधानमन्त्रीको ताजा जनादेशमा जाने जुन प्रयोग गर्नुभएको छ, त्यसलाई सर्वोच्च अदालतले समर्थन गर्छ भन्ने विश्वास उहाँको रहेको छ”, नेवाङले भने ।