केही नेतालाई पार्टीबाट निस्कासन गर्ने निर्णयप्रति कांग्रेस जिल्ला सभापतिहरुको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलगायतलाई पार्टीबाट निस्कासन गरेकोप्रति कांग्रेसका जिल्ला सभापतिले आपत्ति जनाएका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ भैसकेका समयमा अनेक बहानामा निष्ठावान नेता–कार्यकर्तामाथि छानीछानी कार्वाहीको दण्ड चलाइएको निचोड निकालेका छन् ।
पार्टीको यस्तो कार्यले महाधिवेशनको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठेको भन्दै उनीहरुले यस्ता गतिविधि तत्काल रोक्न पनि माग गरेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
निर्वाचनको बेला बागी उम्मेदवार बन्ने, प्रस्तावक र समर्थक बस्ने सबैजना बिधानत स्वतः पार्टीबाट बर्खास्त हुने प्रष्ट ब्यवस्था भएको भन्दै उनीहरुले नेतृत्वले अहिले आएर विभागहरु गठन गर्न थालेकामा पनि आपत्रि जनाएका छन् ।
केन्द्रमा बुझाइएका क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउन, पार्टी प्रणालीभन्दा बाहिरबाट आएका कुनै पनि क्रियाशील सदस्यता नस्वीकार्न, पार्टीमा व्यक्तिरसमूहको गूटगत फाइदाका लागि नभित्र्याउन, त्यही बहानामा क्रियाशील सदस्यतामा अनियमितता नगर्न उनीहरुले नेतृत्वलाई सचेत पनि गराएका छन् ।
नुवाकोट कांग्रेस सभापति केसी, काठमाडौं कांग्रेस सभापति सबुज बाँनिया, काभ्रे सभापति मधु आचार्य, सिन्धुपाल्चोक सभापति विकास लामालगायतले नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।