लकडाउन खोल्दा सरकारले तदर्थवादी व्यवहार प्रदर्शन गरेको भन्दै कांग्रेसको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसले लकडाउन खोल्दा पनि सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरी यसले नागरिक जीवनलाई थप असुरक्षित बनाउने जोखिम बढेको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘मूलभूत रुपमा सरकारका हरेक निर्णयहरु हठात र तयारीरहित देखिन्छन् । लकडाउनको लामो अवधि विना तयारी र विना उपलब्धि नै सरकारले सकायो । अहिले लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमण प्रति सरकारको तयारी शून्य देखिन्छ । लकडाउन खोल्ने निर्णय गरी राख्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातहरुमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन छ । यसले गर्दा सरकारको लकडाउन खोल्ने निर्णय पूर्व तयारीका साथ गरेको नभएर राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नु पर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको देखिन्छ । हामी पनि चाहन्छौं आर्थिक–सामाजिक जीवन सहज होस र आर्थिक गतिविधि बढोस् तर साथसाथै संक्रमणको जोखिम घटोस् । त्यसकारण हामी निम्न लिखित विषय तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’