स्नायु उपचारमा नयाँ प्रविधि : नेसाको नन-इन्भेसिभ न्युरोमोड्युलेसन अब नेपालमा


काठमाडौं । स्नायु प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्याको व्यवस्थापन तथा उपचारमा प्रयोग हुने आधुनिक नन-इन्भेसिभ न्युरोमोड्युलेसन प्रविधि नेपालमा भित्रिएको छ। स्पेनको नेसा वर्ल्ड कम्पनीले विकास गरेको ‘नेसा एक्स-सिग्नल’ (NESA XSignal) प्रविधि त्रिपुरेश्वरस्थित नेसा वर्ल्ड नेपालले भित्र्याएको हो।

शरीरमा कुनै चिरफार नगरी हात र खुट्टाका माध्यमबाट अत्यन्त सूक्ष्म विद्युतीय संकेत प्रवाह गर्ने यो प्रविधि मुख्यतः स्वायत्त स्नायु प्रणाली (अटोनोमिक नर्भस सिस्टम) को न्युरोमोड्युलेसनमा केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

मानव शरीरको स्नायु प्रणालीले निद्रा, दुखाइ, मनोदशा, एकाग्रता, शारीरिक गतिविधि तथा शरीरका विभिन्न स्वचालित क्रियाको नियमनमा महत्वपूर्ण भूमिका खेल्छ । स्नायु प्रणालीको कार्यमा असन्तुलन आउँदा दीर्घकालीन दुखाइ, निद्रासम्बन्धी समस्या, तनाव, थकानलगायत विभिन्न कार्यात्मक समस्या देखिन सक्छन् ।

यस्ता स्वास्थ्य समस्याको व्यवस्थापनमा औषधि, फिजियोथेरापी तथा पुनर्स्थापना उपचारसँगै नन-इन्भेसिभ न्युरोमोड्युलेसन प्रविधिको प्रयोगप्रति पनि चासो बढ्दै गएको छ ।

के हो नेसा एक्स–सिग्नल प्रविधि ?

स्नायु प्रणालीमा निश्चित संकेत प्रवाह गरी त्यसको गतिविधिलाई प्रभावित वा नियमन गर्ने प्रक्रियालाई न्युरोमोड्युलेसन भनिन्छ। शरीरमा शल्यक्रिया नगरी बाह्य माध्यमबाट यस्तो संकेत प्रवाह गर्ने विधिलाई नन–इन्भेसिभ न्युरोमोड्युलेसन भनिन्छ।

नेसा एक्स–सिग्नल यही अवधारणामा आधारित प्रविधि हो। यसमा हात र खुट्टामा इलेक्ट्रोड जडान गरी अत्यन्त न्यून स्तरको विद्युतीय संकेत प्रवाह गरिन्छ। स्वायत्त स्नायु प्रणालीको कार्यलाई नियमन गर्न सहयोग पुर्‍याउने उद्देश्यले यसको प्रयोग गरिने कम्पनीले जनाएको छ ।

सामान्य विद्युतीय उत्तेजना प्रविधिभन्दा फरक प्रकृतिको सूक्ष्म विद्युतीय संकेत प्रयोग गरिने भएकाले उपचारका क्रममा बिरामीले करेन्ट महसुस नगर्ने कम्पनीका प्राविधिकहरूको भनाइ छ ।

विशेषगरी दीर्घकालीन दुखाइ, निद्रासम्बन्धी समस्या, तनाव, थकान तथा स्नायु प्रणालीसँग सम्बन्धित विभिन्न कार्यात्मक समस्याको व्यवस्थापनमा यसको सम्भावित उपयोगलाई महत्व दिइएको छ ।

अन्तर्राष्ट्रिय स्वास्थ्य प्रविधिसँग नेपाललाई जोड्ने प्रयास

कम्पनीका अनुसार युरोपलगायत विश्वका ५३ भन्दा बढी देशमा नेसा वर्ल्डको उपस्थिति छ भने एक हजार पाँच सयभन्दा बढी क्लिनिकमा यसको प्रविधि प्रयोग भइरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइरहेको यही प्रविधिलाई नेपाली स्वास्थ्य क्षेत्रसँग जोड्ने उद्देश्यले नेसा वर्ल्ड नेपालले काम अघि बढाएको हो ।

आधुनिक स्वास्थ्य प्रविधिको विस्तारसँगै चिकित्सक, फिजियोथेरापिस्ट तथा सम्बन्धित स्वास्थ्यकर्मीको दक्षता विकास, प्रविधिको सुरक्षित प्रयोग र उपचारको प्रभावकारितासम्बन्धी अध्ययनलाई पनि प्राथमिकता दिन आवश्यक छ ।

विश्वमा विकसित भइरहेका स्वास्थ्य प्रविधिलाई नेपालको आवश्यकताअनुसार उपयोग गर्न सके स्वास्थ्य सेवाको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुग्न सक्छ । नेसा एक्स-सिग्नलको नेपाल प्रवेश पनि स्नायु प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्याको व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने दिशामा एउटा नयाँ प्रयास हो ।

विदेशमा सिकेको ज्ञान र अनुभव स्वदेशमै उपयोग गर्दै सम्भवराज

यो प्रविधि नेपाल भित्र्याउने युवा स्वास्थ्य उद्यमी हुन्, नेसा वर्ल्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सम्भवराज ढकाल । न्युजिल्यान्डमा उच्च शिक्षा हासिल गरेका ढकालले त्यहाँ स्नातक तहको अध्ययन पूरा गर्नुका साथै विभिन्न क्षेत्रमा व्यावहारिक अनुभवसमेत हासिल गरेका छन् । विदेशमा अध्ययन र काम गर्ने क्रममा उनले विकसित मुलुकको स्वास्थ्य प्रणाली, कार्यसंस्कृति, प्रविधिको प्रयोग तथा सेवाको गुणस्तरलाई नजिकबाट बुझ्ने अवसर पाए ।

विदेशमै आफ्नो व्यावसायिक जीवनलाई थप विस्तार गर्ने अवसर भए पनि स्वदेश फर्किएर आफूले हासिल गरेको ज्ञान र अनुभव नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने उद्देश्यले उनी नेपाल फर्किएका हुन् । ‘विदेशमा सिकेको ज्ञान र अनुभव आफ्नै माटोमा लगाउन पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि हो,’ ढकाल भन्छन् ।

विश्वका विकसित मुलुकमा उपलब्ध आधुनिक प्रविधि र नवीन उपचार पद्धतिमा नेपाली नागरिकको पनि पहुँच हुनुपर्ने उनको मान्यता छ । नेपालको स्वास्थ्य क्षेत्रलाई समयानुकूल प्रविधिसँग जोड्दै गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य सेवा विस्तार गर्न सकिने विश्वासका साथ उनी स्वास्थ्य प्रविधिको क्षेत्रमा सक्रिय भएका हुन् ।

विश्वमा विकसित स्वास्थ्य प्रविधि नेपाल भित्र्याउनु व्यावसायिक अवसर मात्रै नभई स्वास्थ्य सेवाको विकासमा योगदान गर्ने माध्यमसमेत भएको उनको बुझाइ छ ।