पूर्वाधार विकास मन्त्रालयद्वारा सात इन्जिनियर सेवाबाट बर्खास्त


काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात इन्जिनियरलाई सेवाबाट हटाइएको जनाएको हो ।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख)(१) बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरिएको हो । उक्त निर्णय कात्तिक २० गते गरिएको मन्त्रालयले जनाएको छ ।

सेवाबाट हटाइएकाहरूमा पुजन न्यौपाने, सृष्टि भुषा, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चार जना इन्जिनियर कार्यालयमा हाजिर नभएका र तीन जना स्वीकृतिबिना बिदामा बसेर कार्यालयमा अनुपस्थित रहेको कसुरमा कारबाहीमा परेका हुन् ।

कार्यालयमा हाजिर नभएको कसुरमा सृष्टि भुषा, सम्योग श्रेष्ठ, आस्था आचार्य र नरेश थापा कारबाहीमा परेका छन् भने बिदा स्वीकृत नगराई अनुपस्थित रहेको कसुरमा पुजन न्यौपाने, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठलाई सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा उल्लेख छ ।