काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले साथीहरूसँग गरेको सामान्य भोजलाई लिएर सञ्चारमाध्यममा समाचार आएपछि सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् । जीवनमा पहिलो पटक केही साथीसँग भेटघाट गर्ने उद्देश्यले सानो भोज आयोजना गरेको उल्लेख गर्दै उनले उक्त भोज नै आफ्नो अन्तिम भोज हुने अवस्था आएको व्यङ्ग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महावीर पुनले जिन्दगीमा पहिलो पटक केही साथीहरूसँग भेटघाट गरौँ भनेर डेरामा सानो भोज खाने सल्लाह गरेको थिएँ । यही भोज नै अन्तिम भोज पनि हुने भयो यार । किनभने गन्मान्य पत्रकार साथीहरूले त मैले देश नै खतम पारेजस्तो गरेर खुट्टी खन्न थाले त यार।’
पुनले भोज आफ्नो डेरामा नभई मामाको बैठक कोठामा आयोजना गरिएको पनि स्पष्ट पारेका छन् । भोजका लागि आफूले तीन किलो बंगुरको मासु, दुई किलो कुखुराको मासु, साग, धनियाँ, मुला र काँक्रो मात्रै किनेको उनको भनाइ छ ।
उनका अनुसार चित्र र लुकेशले खाना पकाएका थिए भने ह्विस्की, वाइन, कोदोको रक्सी र बियर साथीहरूले नै ल्याएका थिए ।
उनले व्यंग्य गर्दै भनेका छन्, ‘सत्ते सत्ते धरोधर्म मैले ढाँटेको होइन । माफ पाऊँ पत्रकार सरकारहरू ! ठूलो गल्ती भएछ।’

प्रतिक्रिया