–माधवी भट्ट पराजुली
ममताका नाममा चुहाउन नरेशसँग एक थोपा नक्कली आँसुसमेत थिएन-सरकारी अभियोजक सारा सामीको यो व्यङ्ग्यले कसको मन बिझाउँदैन । एकातिर छोरीको अन्तिम संस्कारसमेत गर्न नपाएको परिवारको पीडा, अर्कोतिर श्रीमतीको शव टुक्राएर लुकाएको स्वीकार गर्ने श्रीमान्। त्यही अदालतमा रातो ब्लेजर लगाएर उभिएकी सामीको प्रश्न थियो-श्रीमतीलाई मृत अवस्थामा भेटेको भए आपतकालीन सहायता नम्बर ९११ मा फोन किन गरिएन ? ममता काफ्ले हत्या मुद्दाको अन्तिम बहसमा सामीले नरेशको कथालाई यही प्रश्नले चुनौती दिइन्। डराएको थिएँ भन्ने दाबी र त्यसपछि शव टुक्राएर लुकाएको व्यवहारबीचको विरोधाभास उनले ज्युरीसमक्ष राखिन्। सुनौलो रङका बटन भएको रातो ब्लेजर, बुट्टेदार सेतो सर्ट र पछाडि बाँधिएको कपाल। झट्ट हेर्दा सारा सामी कुनै मोडल जस्ती देखिन्थिन् । जव उनले नरेशलाइ नै पोइन्ट गर्दै तिखा प्रश्न गरिन् उनी काविल वकिल हुन् र कानुनी अक्षर मात्र होइन मानवीय भावना पनि समेट्छिन भन्ने प्रस्ट पारिन् ।
अदालतको तस्बिरमा उनी अगाडिको कागजमा हात राखेर एकातिर फर्कँदै बहस गरिरहेकी देखिन्छिन् । पछाडि न्यायाधीश किम्बर्ली इर्भिङ बसेकी छन् । करिब ४७ मिनेटको बहसमा सामीले स्लाइडमार्फत सन्देश, प्रहरीसँगका अन्तर्वार्ता, भिडियो र ममताले भोगेको हिंसासम्बन्धी प्रमाण प्रस्तुत गरिन्। साराले पटकपटक नरेशतर्फ औँल्याउँदै, उनलाई सीधै हेर्दै प्रश्न गर्थिन्। कतिपय दाबीमा उनको प्रतिक्रिया हुन्थ्यो-‘Are you kidding me ?’ अर्थात्, यस्तो कुरा कसरी पत्याउने ? बहसको सुरुमै उनले नरेशले ममतालाई पठाएको धम्कीपूर्ण सन्देश सम्झाइन् । फोन, पैसा र गाडीको पहुँचमा गरिएको नियन्त्रणको प्रसङ्ग उठाउँदै ममता आफ्नै घरभित्र कस्तो डरमा बाँचेकी थिइन् भन्ने तर्क राखिन् । तर उनको बहसको सबैभन्दा मर्मस्पर्शी कुरा परिवारसँग जोडिएको थियो। ममताको अवशेष अझै फेला परेको छैन ।
परिवारलाई उनको मृत्यु भएको थाहा छ, तर अन्तिम संस्कार गरेर बिदाइ गर्नसमेत पाएको छैन। सामीले अदालतलाई यही अधुरो बिदाइको मर्मस्पर्सी पीडा सम्झाइन् । उनको मन ममताकी आमातिर जान्छ। छोरी फर्किन्नन् भन्ने स्वीकार गर्नुपर्ने, तर उनको शरीर कहाँ छ भन्नेसमेत थाहा नहुने । अन्तिमपटक छुन, सुमसुम्याउन र आफ्नो संस्कारअनुसार बिदाइ गर्न पनि नपाउने। न्यायको फैसला आएपछि पनि त्यो पर्खाइ कहाँ सकिन्छ र? सामीले उठाएको अर्को तर्क पनि मनमा गढेर बस्छ—आत्महत्याको दाबीमार्फत नरेशले मृत्युपछि पनि ममताको कथा आफ्नो अनुकूल बनाउन खोजिरहेका थिए। त्यसको प्रतिवाद गर्न सक्ने ममता अब जीवित थिइनन् ।
आफ्नो पीडादायी कथा सुनाउन ममता आफैँ अदालतमा उपस्थित हुन सकिनन् । तर उनका सन्देश, उनको जीवनका साक्षी र प्रमाणमार्फत उनको कथा सुनियो । सामीले त्यस कथालाई शब्द दिइन्, प्रश्न गरिन् र जवाफ मागिन्। ममताका पक्षमा दृढतापूर्वक उभिने सारा सामीसहित न्यायका लागि खटिने सबैप्रति सम्मान । ममताकी आमाको काख र उनकी छोरीको जीवनमा परेको रिक्तता कुनै फैसलाले भर्न सक्दैन । तैपनि, ममतामाथि भएको अपराधको जवाफ माग्ने आवाज अदालतमा सुनियो। त्यो आवाज दबिन पाएन। यो पनि चानेचुने उपलब्धी होइन ।

प्रतिक्रिया