ढाकाटोपी लगाएर नेपाल फेस्टिभलमा पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज


काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा सहभागी भएका छन् । नेपाली पहिचान झल्काउने ढाकाटोपी लगाएर कार्यक्रममा पुगेका उनले नेपाली समुदायलाई सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री अल्बानिजले नेपाली समुदायसँग तिहार मनाउन पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए । अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको भूमिकालाई महत्त्व दिँदै उनले विविधता नै देशको शक्ति भएको उल्लेख गरे । उनले भने,‘विविधता हाम्रो शक्ति हो र तपाईंहरू यसको अत्यन्त महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ ।’

सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा नेपाली कला, संस्कृति र परम्पराको उत्सव मनाउन ठूलो संख्यामा नेपाली समुदायका सदस्य सहभागी भएका थिए ।