नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव


बाँके । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ । खेलकुद पूर्वाधारलाई खेलाडी उत्पादनको श्रोत मानिएपनि यसबाट खेलाडी उत्पादन हुन नसक्दा खेलाडी अभावमा पूर्वाधारको संरक्षण हुन नसकेको हो ।

पौडी खेलका एसिएन अफिसियल दामोदर अर्यालले नेपालगन्जमा रहेको खेलकुद पूर्वाधारले गिज्जाइरहेको उल्लेख गर्दै अपनत्वका कारण आर्थिक अभावले पूर्वाधारको संरक्षण हुन नसकेको बताए ।

उनले नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधारको विकास आठौँ राष्ट्रिय खेलकुदमा भएको जानकारी दिँदै पूर्वाधारले खेलाडी खोजीरहेको उल्लेख गरे । अर्यालले भने, ‘आर्थिक अभावका कारण त्यहाँ रहेको पौडी पोखरी तीन वर्षअघिदेखि स्विमिङ क्लवको पहलले इज्जत जोगारहेको छ ।’

सो रङ्गशालामा रहेको एक मात्र पौडी पोखरीको सरसफाइमा मात्रै करिव दुई लाखदेखि तीन लाखसम्म अतिरिक्त खर्च भएको छ । नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले नियमित खेल हुने पौडी पोखरीमा नियमित सरसफाइ नभएकाले पोखरी सफा गर्न सो रकम खर्च भएको जानकारी दिए ।

नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते नेपालगन्ज रङ्गशालामा हुने तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपका लागि पोखरी सफाइ तथा आन्तरिक व्यवस्थापनको काम पूरा भएको उनको भनाइ छ ।

मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्दले रङ्गशालाको आन्तरिक स्रोत परिचालनबाट सक्दो काम भइरहेको उल्लेख गर्दै सङ्घीयता लागूभएपछि बजेट आउन कठिनाई भएको बताए ।

स्वीमिङ क्लबका महासचिव कृष्ण अधिकारीले पौडी प्रतियोगिताका लागि सबै तयारी पुरा भएको उल्लेख गर्दै भारत, नेपालका गरी २०० खेलाडीले नाम दर्ता गरेको जानकारी दिए ।

प्रतियोगितामा यसपटक स्वदेशी खेलाडीसँगै भारतीय खेलाडीको सहभागिताले प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । यसले नयाँ प्रतिभादेखि अनुभवी खेलाडीसम्मलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने आयोजकको जनाएका छन् ।

क्लबका अनुसार अण्डर आठदेखि अण्डर १७ तथा ओपन अर्थात १७ वर्षभन्दा बढी उमेरका खेलाडीले फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्ले गरि ६ छुट्टाछुट्टै बिधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । क्लबले पहिलो र दोस्रो संस्करण सम्पन्न गरिसकेको छ । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।