–डा. युवराज संग्रौला ।
भ्यागुतोलाई तेलमा हाल्नुहोस्, त्यो तत्काल उफ्रेर भाग्छ । तर मन तातो पानीमा हाल्नुहोस्, त्यो आरामसँग बस्छ । पानी तात्दै जान्छ, भ्यागुतो भाग्दैन आनन्द महसुस गर्छ। पानी धेरै तात्छ तरपनि भ्यागुतो भाग्दैन किनकी उसलाई तातोमा बस्ने आदत बनिसकेको हुन्छ । जब पानी उम्लन्छ तब छाला डढेर मर्छ । यसलाई भन्छन्, भ्यागुतोलाई तातो पानीको असरको सिद्धान्त ।
१. सन् १८१६ पछि नेपालीहरु लुकीलुकी भारतमा बृटिस सेनामा जान थाले हामिले आपत्ति गरेनौं । तब बृटिसले राणाशाहीसँग भाडामा सेना मागे, हामीले दियौं । गर्दै गर्दै, दोस्रो विश्वयुद्धमा पठायौँ । अनि बृटिसले निवृत्त लाहुरेहरुलाई ब्रुनाइमा भाडामा दियो, हामीलाई आपति भएन। बृटिसले सिंगापुर पुलिसमा भाडामा लगायो, हामीलाई आपत्ति भएन। थोरै नेपालीलाइ दिएर धेरै लग्यो हामीलाई आपत्ति भएन। अनि नेपालमै डाइभरसिटी भिसा खुल्दा कर्मचारी, पार्टीका नेता र सुरक्षाकर्मी समेतले भरे, हामीलाई आपत्ति भएन । हामीलाई आफ्नो उत्पादन होइन, बिदेशी जागिरको आदत बस्यो । पाँचपुस्ता भैसक्यो ।
२. तब वैदेशिक रोजगार खुल्यो । कृषि मासिँदै गयो, उत्पादनप्रति सरकारको चासो भएन । गैरसरकारी संस्था खुले, विदेशी पैसा आयो । जागिर त आयो तर विदेशीकै । उत्पादन, उद्यम, स्वनिर्भरतामा हाम्रो चासो भएन । अनि एउटा भाष्य “तयार भयो, यो देशमा केही छैन । तब विदेशी हवाइजहाजले नेपालमा अवसर पाए। नेपाली सबै जान लागे।“ यो त्यही भ्यागुतोलाई न्यानोको असर थियो ।
३. राजनीति भूराजनितिको भकुण्डो भयो । नेता मन्त्री राजदूतावास जानथाले, हाही विदेशकै कुरा र यात्रामा रमाउनेलाई त्यो आपत्ति भएन । त्यो त हाम्रा नेताले गरेको थियो हो भन्दै प्रतिवादमा लागे । त्यसपछि विदेशी आएर हाम्रा सांसद र सबैलाइ तालिम दिन थाले, हामीलाई आपत्ति भएन। विस्तारै विदेशी राजधानीमै हाम्रा निर्णय हुन थाले हामीलाई आपत्ति भएन । अनी देशभित्रै र पार्टीभित्र अनेक देशका पार्टी खुले हामीलाई आपत्ति भएन। भ्यागुतोलाई पानी झन्झन् तात्दा निद्रा लाग्यो र निदायो । ब्युँझिदा उसको छाला डडिसकेको थियो।
म्यानिपुलेसन वा “दिमाग निष्क्रियता“ कतिबेला हुन थाल्छ थाह नै हुंदैन । जब थाहा हुन्छ, ढिला भैसेको हुन्छ । राजनीतिमा नेतृत्वको पुस्ता हुन्छ, उमेरको पुस्ता होइन। दिमाग भ्रमित भैसकेका युवा दिमाग भ्रमित नभएका बुढा जेठा र कान्छा पुस्ता हुन सक्छन्, राजनीतिमा । भूराजनीतिमा विदेशी प्रभाव भ्यागुतोलाई तातो पानी मन परेजजस्तै, दिमागमा भ्रमद्वारा आदतमा परिणत हुन्छ । भ्यागुतोलाई न्यानो पानीको भाँडोमा बस्न मन लागेजस्तै, मानिसलाई अर्काको भाषा, संस्कृति, चलन, व्यवहार आधुनिक लाग्न थाल्छ । आफ्नो सभ्यता, आफ्नोपन, आफ्नो पर्व, आफ्नो लुगा मनपर्दैन । तब भ्यागुतोको छाला डढेजस्तै,
१. देशभक्ति मर्छ, अर्थात् आफ्नो माटोप्रति घिन लाग्छ । विदेशी पर्व मनपर्छ । सबै अर्काको मनपर्छ । तब आफ्नो के हो थाहा हुँदैन।
२. राजनीतिमा अरुकै अदप शुरु हुन्छ र आफूसँग कुनै बिचार र मौलिकता हुँदैन। अनि मानिस आफ्नै ठाउँमा बिरानो हुन्छ ।
३. तब, मानिससँग तर्क हुन्न । तब मानिस या त बोल्दैन, या त अन्धभक्त हुन्छ, या त अन्धबिरोधी हुन्छ । किनकी ऊ भ्रमित भएको हुन्छ।
चीन र भारत पनि यही भ्यागुतो असर सिद्धान्तबाट प्रभावित थिए । तर दिमाग परिवर्तन गर्न जाने । त्यहाँको भ्यागुता न्यानोले निदाएन, ताप बढ्नुलाई अस्वाभाविक ठान्ने चेतना प्रयोग गरे र “केही खतरा छ भनि थाहापाइ उफ्रे।“ नेपालीको अघिल्लो पुस्ताको छाला त डढ्यो । अरुले देखेर दिमाग बदल्नु आवश्यक छ। त्यसैले देश खोज्नु आवश्यक छ । त्यसका लागि दिमागमा गन्थन होइन, दिमागलाइ नै बदल्नु आवश्यक छ। कसरी ? बहस शुरु हुनुपर्छ।

प्रतिक्रिया