संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ


काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

सामाजिक संजालमार्फत गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई दिने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्।

संवेदनशील गोप्य सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको सन्दर्भमा उनको यस्तो भनाई आएको हो । दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रश शम्सेर जबरालाई भेटेको विषयलाई लिएर गृह मन्त्रालयले निलम्बन गरी छानबिन थालेको छ । प्रहरीले जबरालाई पक्राउ गरेपछि उनका पारिवारिक नाता पर्ने दाहाल भेट्न गएका थिए ।

गृहमन्त्रीले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गरेका छन् । पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ।

उनका अनुसार गृह मन्त्रालय तथा मातहतका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्छ।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने भन्दै उनले त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा ल्याइने स्पष्ट पारेका छन्।