‘एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई स्वाट्टै हान्छु भन्दै चेन अफ कमान्डको धज्जी उडाउने दुस्साहस कसरी गर्न सक्छन् ?’


काठमाडौँ । भन्सार अधिकृतले सशस्त्र प्रहरीका एक उच्च अधिकारीलाई धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि त्यसको विषय प्रतिनिधिसभामा उठेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद ज्वाला संग्रौलाले घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई भन्सारमा गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर अपमानजनक तथा धम्कीपूर्ण भाषामा कुरा गरेको अडियो सार्वजनिक भएको थियो ।

सार्वजनिक अडियोमा भन्सार अधिकृतले सुरक्षा निकायका उच्च अधिकारीलाई ‘स्वाट्टै हान्छु’ भन्दै धम्की दिएको सुनिएको संग्रौलाले बताइन्। उनले यस किसिमको अभिव्यक्तिले राज्यका निकायबीचको कानुनी मर्यादा र जिम्मेवारीमाथि प्रश्न उठाएको बताइन्।

‘एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुनी मर्यादा र चेन अफ कमान्डको धज्जी उडाउने दुस्साहस कसरी गर्न सक्छन् ?’ उनले प्रश्न गरिन्।

राजस्व चुहावट नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई नै भन्सार प्रशासनका अधिकारीबाट धम्कीपूर्ण व्यवहार हुनु गम्भीर विषय भएको उनको भनाइ छ।

संग्रौलाले यस्तो घटनाले सुरक्षा निकाय र निजामती प्रशासनबीचको समन्वयमा असर पार्नुका साथै राज्य संयन्त्रप्रतिको जनविश्वासमा समेत प्रश्न उठाउन सक्ने बताइन्।

उनले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषी पाइए कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरिन्। सीमा क्षेत्रमा खटिने सुरक्षा निकाय र राजस्व प्रशासनबीच समन्वय, मर्यादा र कार्यक्षेत्रको स्पष्टता कायम गर्न पनि सरकारले तत्काल पहल गर्नुपर्ने उनको जोड थियो।