भोटेकोसी बाढी प्रभावितका लागि नेपाल लाइफका कर्मचारीको ९ लाख ५३ हजार सहयोग


काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहतका लागि नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारीले ९ लाख ५३ हजार २१६ रुपैयाँ सहयोग गरेका छन्।

नेपाल लाइफ इन्स्योरेन्स स्वतन्त्र कर्मचारी युनियनको पहलमा कर्मचारीहरूबाट संकलित रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको हो।

शुक्रबार आयोजित कार्यक्रममा युनियनका अध्यक्ष कर्मालाल योन्जन लामा, महासचिव दीपक लुइटेल, सचिव उषा श्रेष्ठ र कोषाध्यक्ष कपिलदेव भट्टले संयुक्त रूपमा अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरेका थिए।

भोटेकोसी क्षेत्रमा आएकोबाढीबाट प्रभावित नागरिकको राहतका लागि कर्मचारीहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको युनियनले जनाएको छ। संकलित रकम सरकारी राहत कोषमार्फत विपद् प्रभावितको राहत तथा पुनःस्थापनामा प्रयोग हुने अपेक्षा गरिएको छ।

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र नागरिकस्तरबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्दै आएको छ। सोही क्रममा नेपाल लाइफका कर्मचारीले पनि संस्थागत रूपमा रकम संकलन गरी राहत कोषमा योगदान गरेका हुन्।

राहत कोषमा रकम हस्तान्तरण कार्यक्रममा कर्मचारी युनियनका पदाधिकारीहरूको सहभागिता रहेको थियो। युनियनका अनुसार विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कर्मचारीस्तरबाट गरिएको यो योगदान राहत तथा पुनःस्थापनाको प्रयासमा प्रयोग हुनेछ।