भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३८५ पुग्यो


काठमाडौँ । भोटेकोसी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेलापरेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला तथा ५०९ वटा शव आंशिक अङ्गसहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष, ३२८ महिला सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनकार्यलाई सुरक्षा निकायले निरन्तरता दिएको छ । फेलापरेका शवमध्ये एक हजार १४८ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

बाढीपछि हालसम्म नौ हजार २८७ जनाको उद्धार गरिएको छ । जसमा पुरुष छ हजार ४०७, महिला दुई हजार ८३० र पहिचान नखुलेका ५० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उद्धार गरिएकामध्ये तीन हजार १७६ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार २८६ जना र मृतकका आफन्तका एक हजार ७१२ जना गरी दुई हजार ९९८ जनाको डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा निरन्तर परिचालित छन् ।