‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज उठिसके, तर सिंहदरबार कहिले उठ्छ ?’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री विपिन कुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरूलाई तीव्र गतिमा पुनर्निर्माण गरिसकेपनि सरकारी संचरना भने निर्माण हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘म घरबाट महाराजगन्ज र नक्सालका बाटोबाटै नै हुँदै सदनमा आउँछु। भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ । तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु। यस पटकको बजेट नै नयाँ संसद् हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु।’

उनले राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोटलगायतका क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण पनि प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे ।

उनले भने, ‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसदकै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ? के–के नीतिगत र व्यावहारिक कमजोरीहरु छन्, त्यो पत्ता लगाउँ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाउँ, विफोर इटस् टू लेट।’