‘गरिब भएकै कारण अस्पताल बाहिर बच्चा जन्माउनुपर्ने अवस्था किन आयो ?’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) सांसद खगेन्द्र कर्णले सडकमै महिलाले बच्चा जन्माएको घटनाका विषयमा सरकारको जवाफ माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसदमा उठाएका हुन् ।

उनले सुत्केरी व्यथा लागेपछि महिला अस्पताल गएको तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन नलिएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र भए पनि यस्ता घटनाले स्वास्थ्य प्रणालीमै गम्भीर कमजोरी रहेको देखाएको छ । एउटा महिला पैसाको अभावका कारण अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनुपर्ने अवस्था आएको छ । हामी स्वास्थ्यमा ठूला–ठूला कुरा गरेर बसिरहेका छौँ ।’

राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उनले बताए ।