ऋषि कट्टेल ।
बाढी पीडितलाई सहयोग गर्न भनी ग्रीन आर्मी नामको गैरसरकारी संस्था फिल्डमा उत्रिएपछि यसवारे निकै चर्चा चलेको छ । यस्ता गैरसरकारी संस्थाहरु सायद नेपालमा हजारौँको संख्या समाज कल्याण परिषदमा दर्ता होलान् । गैरसरकारी संस्थाहरु सबैभन्दा धेरै एमालेसँग सम्बन्धित थिए । अनि काँग्रेस माओवादीहरु पनि संलग्न छन् । यिनीहरु सबै समाजिक संस्थाको रुपमा परिचालित हुन्छन् । कुनै मानवअधिकारका नामका हुन्छन्, कुनै वातावरण, कुनै प्रकोप म्यानेजमेन्ट, कुनै जातीय अधिकार, कुनै कानुनी सहायता, कुनै कुटनीति परिचालन आदि आदि । यी सबैलाई लगानी युरोप अमेरिकाले गर्दछ ।
नेपालका अधिकांस बुद्धिजीविहरु, युवायुवतीहरु र पछिल्लो समयमा ग्रामीण तहमा समेत महिला समूह, दलित उत्पीडितका समूहका नामले समेत परिचालित छन् । त्यति मात्र हैन सेना, अदालत, कर्मचारीतन्त्र सबैसबैमा यसले आफ्नो प्रभाव विस्तार गरिसकेको छ । अर्को भाषामा भन्दा यिनीहरु डलरे संस्थाको नामले चिनिन्छन् । ग्रीन आर्मी पनि सायद त्यस्तै एनजिओ होला । भाद्र २४ का प्रायोजकहरु पनि यिनै भएकोले अहिले देशमा उनीहरुको राज छ । अमेरिकन युथ काउन्सिल जस्ता संस्थाहरु खुलेआम सत्ता पलटको नेतृत्व गर्ने हैसियतमा पुगिसकेको देशमा ग्रीन आर्मीको विरोध वा प्रतिबन्धको कुनै अर्थ छैन । युथ काउन्सिल, बारबरा फाउण्डेसन, हामी नेपाली, महावीर पुनको अनुसन्धान केन्द्र जस्ता एनजिओहरुनै आज सत्ताको केन्द्रमा छन् ।
एमालेवालाहरुले समेतले ग्रीन आर्मीको कुरा गरेको सुनेपछि मलाई हाँसो उठयो । जुन पार्टीको जीवन र शक्ति भनेकै एनजिओ हो । छैटौ महाधिवेशनमा करिव ९०० जति प्रतिनिधिमा एनजीओका मात्रै झण्डै २०० जना थिए । एमालेको एउटा इन्सेक भन्ने एनजिओ छ त्यसले माले भन्ने पार्टीका नेताहरुलाई भूमिगत अवस्थादेखिनै पालेको थियो । ४८.४९ तिरको कुराहो जुनबेला म गोरखा पार्टीको प्रमुख थिएँ उनीहरुले गोरखा पार्टीमा पनि एनजिओ परिचालित गर्ने प्रयास गरे । मैले मानिन । किनकी मलाई एनजिओ के हो भन्ने राम्रोसँग थाहा थियो । हाम्रै छिमेकी बंगलादेशमा एनजिओहरुमार्फत त्यहाँको कम्युनिष्ट पार्टी कसरी ध्वस्त भए राम्ररी थाहा थियो । तर उनीहरुले गुट खडा गरेर पार्टीलाई एनजिओकरण गर्न थाले ।
आज मालिकले नोकर बदल्न एमालेविरुद्ध एनजिओ नै प्रयोग गर्यो । किनकी एमालेमार्फत कम्युनिष्ट आन्दोलनलाई बदनाम गराइसकेको थियो । आज तिनै एनजिओवाला बुद्धिजीवी, पत्रकार, युवायुवतीहरु अब नेपालमा कम्युनिष्ट सकिए भनेर खुब प्रचार गरिरहेका छन् ।
किन साम्राज्यवादीहरुले एनजिओमार्फत यति धेरै लगानी गरिरहेछन् । यसको पहिलो टार्गेट हो कम्युनिष्ट आन्दोलन समाप्त पार्नु । जनतालाई वर्ग संघर्षबाट विमुख गराउनु । दोस्रो पक्ष हो राजनीतिक दलहरुलाई कमजोर बनाउनु र तेस्रो पक्ष हो त्यो देशको राज्यलाई कमजोर वनाएर कठपुतली सत्ता कायम गर्नु । यदि राज्यलाई बलियो बनाउने, देशको स्वाधिनता जोगाउने, जनतन्त्रको सुनिश्चित गर्न चाहने हो भने एनजिओहरुलाई प्रतिबन्ध गरेरमात्र पुग्दैन यिनलाई भाटे कारबाही नै गर्नुपर्दछ । अन्यथा भाद्र २४ को अवस्था देशले पटक पटक बेहोर्नु पर्दछ ।

प्रतिक्रिया