हे पशुपतिनाथ,नेपाल र नेपालीलाई रक्षा गर !


रातको १०ः ३० बजिसक्यो,
सुत्नै मन लागेको छैन-
सोच्दैछु-आखिर जीवन के रहेछ त ?

यत्रो दिन भयो…
मन अझै सम्हालिन सकेको छैन।
टाउको भारी छ, मन पीडाले भरिएको छ।

आँखा बन्द गर्दा पनि त्यही दृश्य देखिन्छ-
बगेका पुलहरू, पुरिएका घरहरू, उजाडिएका गाउँहरू…
र आफ्ना मान्छे गुमाएर टोलाइरहेका ती आँखाहरू।

हाम्रो देश…
गरिबी, अभाव र अनेकौँ चुनौतीसँग लड्दै आएको देश।
वर्षैपिच्छे कुनै न कुनै विपत्तिले फेरि घुँडा टेकाउन खोज्छ।
हामी एउटा विपत्तिबाट उठ्न नपाउँदै अर्को विपत्तिले थला पार्छ।

यसपटकको क्षति त झन् कल्पनाभन्दा बाहिर छ।
३०–३५ वटा पुलहरू बगेका छन्,
सिंगो गाउँहरू उजाडिएका छन्,
घरहरू माटोमा पुरिएका छन्,
र कति परिवारका सपना र संसार एकैछिनमा समाप्त भएका छन्।

मनले बारम्बार एउटा प्रश्न गरिरहेको छ-
आखिर उनीहरूको दोष के थियो ?
जो भेलसँगै बगे,
जो माटोभित्र पुरिए,
जो आफ्ना परिवारलाई अन्तिमपटक हेरेर सदाका लागि विदा भए-
उनीहरूको अपराध के थियो ?

हाम्रो देश गरिब हुनु उनीहरूको दोष थिएन।
पूर्वाधार कमजोर हुनु उनीहरूको दोष थिएन।
प्रकृतिको निर्मम प्रहारमा पर्नु उनीहरूको दोष थिएन।
तर सजाय भने उनीहरूले पाए।
कसैको काख रित्तियो,
कसैको सिन्दूर पुछियो,
कसैको बालापन आमाबुबाविहीन भयो,
र कसैको पूरा संसार नै एकैछिनमा हरायो।

अब सोच्दा मन झन् डराउँछ-
पुनर्निर्माण कहाँबाट सुरु गर्ने ?
कसरी सुरु गर्ने ?
कति वर्ष लाग्ला यो घाउ पुर्न ?
भत्किएका पुल फेरि बनाउन सकिएला,
ढलेका घर फेरि उठाउन सकिएला,
उजाडिएका बस्ती फेरि बसाउन सकिएला।
तर…
गुमेको एउटा जीवन कसरी फर्काउने ?
रित्तिएको एउटा काख कसरी भरिने ?
आमाबुबा गुमाएको बच्चाको आँखाबाट आँसु कसरी पुछ्ने ?
यही प्रश्नले मन चसक्क दुखाउँछ।

तर यो अँध्यारोबीच एउटा उज्यालो पनि देखिएको छ-
मानवीयता अझै जीवित छ।
विपत्तिको यो कठिन घडीमा सरकार आफ्नो जिम्मेवारीबोधका साथ मैदानमा उभिएको छ।
देश विदेशका कुनाकाप्चाबाट नेपालीहरू एकअर्काको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोगका लागि जुटिरहेका छन्।
कसैले श्रम दिइरहेको छ, कसैले राहत, कसैले आफ्नो सानोभन्दा सानो सहयोग।

सायद यही हो-
विपत्तिभन्दा ठूलो नेपालीपन।
पीडाभन्दा ठूलो मानवता।
र निराशाभन्दा ठूलो हाम्रो सामूहिक आशा।

आज मन दुखेको छ।
धेरै दुखेको छ।
शब्दहरू पनि अपुरा लागिरहेका छन्।

हे पशुपतिनाथ,
यो दुःख सहन सक्ने शक्ति देऊ।
दिवंगत आत्माहरूलाई चिरशान्ति देऊ।
शोकमा डुबेका परिवारलाई धैर्य देऊ।
घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभ देऊ।
र हामी सबै नेपालीलाई एक भएर यो विपत्तिबाट उठ्ने साहस देऊ।
देश घाइते छ-
तर देश हार्न हुँदैन ।
हामीले आँसु पुछ्नुपर्छ,
एकअर्काको हात समाउनुपर्छ,
र फेरि उठ्नुपर्छ।
किनकि पुलहरू फेरि बन्लान्,
घरहरू फेरि उठ्लान्,
बस्तीहरू फेरि बस्लान्…
तर आजदेखि हाम्रो एउटा संकल्प पनि बन्नुपर्छ-
अब कुनै नेपालीले विपत्तिका कारण यति असहाय भएर ज्यान गुमाउन नपरोस्।
हे पशुपतिनाथ,
नेपाल र नेपालीलाई रक्षा गर।

सन्तोष पोखरेल