काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले शोकमा रहेका व्यक्तिलाई कसरी शोक गर्ने भनेर सिकाउनुको सट्टा उनीहरूको दुःखमा साथ दिन आग्रह गरेकी छन् ।
आइतबार राति सामाजिक सञ्जालमार्फत सांसद धितालले मृत्युको पीडा भोगेकालाई मात्र शोकको गहिराइ थाहा हुने उल्लेख गर्दै अरूको दुःखलाई बुझेर संवेदनशील बन्न आग्रह गरेकी हुन् ।
‘के तपाईंले कहिल्यै मृत शरीरको चिसो निधारमा चुम्बन गर्नुभएको छ ?’ भन्दै उनले मृत्युको मुखमा पुगेको मानिसको हात समातेर अन्तिम सासका लागि संघर्ष गरिरहेको र आँखाबाट आँसु बगिरहेको दृश्य देख्नुको पीडा शब्दमा व्यक्त गर्न कठिन हुने बताएकी छन् ।
‘यदि छैन भने, शोक कस्तो हुन्छ भन्ने तपाईंलाई अझै थाहा छैन,’ उनले भनेकी छन्, ‘त्यसैले, जबसम्म आफैंले त्यो पीडा भोग्नुभएको छैन, कसैलाई कसरी शोक गर्नुपर्छ भनेर नसिकाउनुहोस्।’
धितालले शोकमा रहेका व्यक्तिप्रति दयालु र संवेदनशील बन्न आग्रह गर्दै उनीहरूको दुःखमा साथ दिनुपर्नेमा जोड दिएकी छन् । ‘दयालु बन्नुहोस् । उनीहरूको दुःखमा बसिदिनुहोस् । बस्, उनीहरूको साथमा रहिदिनुहोस्,’ उनले भनेकी छन् ।

प्रतिक्रिया