काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद राईले देशमा हत्या, हिंसा तथा गोली चल्ने घटनाहरू बढ्दासमेत सरकार मौन रहेको आरोप लगाए ।
उनले भने, ‘देशमा आज जताततै हिंसा हुने अवस्था छ । तर सरकार बेखबर छ । सरकार कहाँ छ भनेर सोध्न चाहन्छु । सरकार अव तपाई बाहिर निस्कनुपर्छ । किनकी दिनदहाडै देशमा गोली चलेको छ । हत्या हिंसा भएको छ । देशमा संकट हुने अवस्था छ । तर सरकार बेखबर छ ।’
उनले सरकार जनताको वास्तविक अवस्था बुझ्न बाहिर निस्किनुपर्ने भन्दै देशको अवस्था असामान्य रहेको बताए । उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने बताए ।
उनले भने, ‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठड्याए हुन्छ । त्यो पाइन्छ, गर्न सकिन्छ । रास्वपा आज दुई तिहाइको नजिक छ । २ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला ।’
उनले सके सक्रिय रूपमा काम गर्न, नभए देश चलाउन नसक्ने स्वीकार गरेर मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले भने, ‘यो ढंगले अभिभावक विहीन बनेर देश चलाउन पाइन्न । देश र जनतालाई यसरी टुहुरो बनाउन पाइन्न । यसकारणले सरकार कि त निस्किनुपर्यो, कि त सक्तिनँ भनेर हात ठडाउन पर्यो ।’
राष्ट्रियतासम्बन्धी विषयमा अनावश्यक जिद्दी गर्नु उपयुक्त नहुने भन्दै उनले यसको मूल्यांकन नागरिकले भविष्यमा गर्ने बताए । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सम्मानित रोस्ट्रमबाट दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ तत्काल सच्याउन माग गरे ।
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन पनि उनले सभामुखमार्फत माग गरे ।

प्रतिक्रिया