देशले भूराजनीतिक चुनौतीको सामना गरिरहेको बेला हाम्रो कर्तव्य राष्ट्रिय एकता निर्माण गर्ने हो विभाजन होइन


डा. युवराज संग्रौला ।

समाज जब पूर्ण अराजक र दिग्भ्रमित बन्न थाल्छ मानिसहरूले आफ्नो विवेक, सोच र मौलिक चिन्तन गुमाउँदै जान्छन् । अनि बिनाआधारको हल्ला र अफवाहको पछाडि अन्धधुन्ध कुद्न थाल्छन् । यो मनोवैज्ञानिक तथा सामाजिक सत्यलाई उजागर गर्ने एउटा प्रसिद्ध चिनियाँ लोककथा छ। जसलाई ‘तीन मानिसले बाघ बनाउँछन्’ वा ‘सत्यलाई जित्ने हल्ला’ को रूपमा चिनिन्छ । उस्तै सन्देश दिने अर्को रोचक लोककथा पनि छः ‘सय जना मानिस र एउटा खरायो’।

आज नेपाली समाज यस्तै बन्दैछ । तीन खालका खराब मानिस देखिन्छन्, आज देशलाई बर्वाद गर्ने । एकथरीलाई लाग्छ, ‘मस्ति गर मोज गर बाँच।’ दुनियाँसँग के मतलब । यस्ता मानिसलाई अंकगणित पैसाका बिटा र रक्सीका बोतलको जानकारी हुन्छ । उनीहरुलाई बाबुको नाम पनि थाहा हुन्न । देश समाज धर्म संस्कृति केही सरोकार हुन्न । यिनीहरुले सुँगुरको बेइज्जत गरेका छन् । अर्काथरी छन् जो जंहाँ जता गएपनि अरुको पत्तासाफ गर्ने षड्यन्त्रको कल्पना गर्छन् र खुरापात गर्छन् । उनीहरु पेन्डुलम जस्तै हुन्छन् । उनीहरु रङ्ग बदल्छन् । सराप्छन् र गाथा गाउँछन् परिस्थिति अनुरुप । यिनीहरुले छेपाराको बेइज्जत गरेका छन् । अझ अर्काथरी छन् केही मानिस केराका थाम काटेर घरका खम्बा बनाउँछन् । बालुवामा पानी जम्मा गर्छन् । आफू बसेको हाँगा काट्छन् । आफ्नो पिर्का आफू बस्न नपाएपछि जलाइदिन्छन् । मरुन्जेल कुर्सीमा बस्ने ख्वाव राख्छन्, हल्लामा रमाउँछन् ।
समाजमा यस्तो भइआएको छ। समाज यिनै मानिसका कारणले अराजक बन्छ। देश सखाप हुन्छ। नैतिकता कुहिन्छ । माया फोहोर हुन्छ । यी मान्छे कुहिएको लासमा परेका औंसा जस्तै हुन् । यिनीहरु कुहिएको खान मन पराउँछन् तर कुहिएको लास जब माटोमा बिलिन हुन्छ, औंसा पनि सखाप हुन्छ। त्यो ठाउँमा हरियो घाँस र बिरुवा मौलाउँछन् र एकदिन फल्छन् । दुईवटा चिनियाँ लोककथा पढौं ।

१. तीन जनाले बनाएको बाघ

यो प्राचीन चिनियाँ लोककथा वा नीति कथा (able) ले समाजमा आधारहीन हल्लाले कसरी मानिसको विवेक नष्ट गर्छ भन्ने देखाउँछ । ‘प्राचीन चीनको ’उई’ (Wei) राज्यका एकमन्त्री पाङ सोङलाई छिमेकी राज्यमा दूतका रूपमा जानुपर्ने भयो । जानुअघि उनी राजालाई एउटा कुरा सम्झाउन चाहन्थे, किनकी दरबारमा उनका शत्रुहरू धेरै थिए र राजा विलासी मुर्ख थिए । पाङले राजालाई सोधे, ‘महाराज ! यदि एक जना मानिसले तपाईँसमक्ष आएर बजारको बीचमा एउटा बाघ घुमिरहेछ भन्यो भने के तपाईं पत्याउनु हुन्छ ?’ राजाले भने, ‘अहँ, पत्याउँदिन । बजारका बीचमा कसरी आउँछ बाघ?’ पाङले फेरि सोधे, ‘यदि दुई जना मानिसले आएर बजारमा बाघ छ भनेर भने भने ?’ राजाले केही दोधारमा पर्दै भने, ‘मलाई अलि शंका त लाग्छ, तर पूर्ण विश्वास गर्दिनँ।’ पाङले अन्त्यमा सोधे, ‘यदि तीन जना मानिसले फरक–फरक समयमा आएर बजारमा बाघ देखेको कुरा ठोकुवा गरे भने नि?’ राजाले सोझै भने, ‘त्यसो भए त म पक्कै विश्वास गर्छु। तीन–तीन जनाले भनेपछि बजारमा बाघ हुनैपर्छ, नत्र किन भन्थे र । एउटा बौलाए पनि सबै त कसरी एकै चोटी बहुलाउँछन् र?’

अब मन्त्री पाङ सोङले दुःखी हुँदै भनेः ‘महाराज, बजारका बीचमा बाघ आउँदैन । ऊ मानिससँग डराउँछ, उसलाई मृत्युको डर हुन्छ। फेरि उसलाई बजार आउने काम पनि त छैन । तर जब तीन जना मानिसले एउटै कुरा बारम्बार दोहोर्याउँछन्, तब मानिसको दिमागले सोच्न छाड्छ र उसलाई असम्भव कुरा पनि सत्य लाग्न थाल्छ । मानिसले विवेक प्रयोग गर्न अक्सर बिर्सन्छ । अज शासन सत्ताको मोहमा रहनेहरु त आफ्नो सामुन्नेमा मात्र हेर्छन् । म टाढा विरोधी राज्यमा जाँदैछु, म गएपछि मेरा विरोधीले मेराविरुद्ध कुरा लगाउने छन् । तीन जनाभन्दा बढी मानिस उभ्याएर भ्रम फैलाउनेछन् । कृपया हल्लाको पछाडि नदौडिनुहोला । म मेरो राज्यलाई सबै सुम्पेको मान्छे हो । मेरो स्वार्थ केही छैन । सन्तान दरसन्तानले यो देशको पहिचान पाउन भनेर बुढा हड्डीको भर नभएपनि यति टाढा जाने आँटले निस्कँदै छु।“

समाजमा जब अराजकता र भ्रमको जालो बन्छ, मानिसहरूले तर्क र सत्यताको जाँच (Reasoning) गर्न छाडिदिन्छन् । उनीहरु जात, धर्म, स्थान, नाक, कपाल, भाषा, खानेकुरा, पुज्ने कुरा, टीका आदिको भरमा अर्को मानिसको खेदो खन्न थाल्छन् । यस्तो समाजमा बनाउनेको खेदो र चोर्ने र पाखन्डीको पुजा हुन्छ । धेरै मानिसले वा समाजका धेरै पक्षले एउटै असत्य कुरा दोहोर्याइदिएपछि मानिसको दिमाग अकर्मण्य हुन्छ र त्यो हल्लालाई नै सत्य मानेर त्यसैको पछाडि दौडिन थाल्छ । हल्लाको दुनियाँ चलाउँछ ।

२. ‘सिंह र खरायोको हल्ला’ (जापानी’बौद्ध जातक कथा) पनि रोचक छ।

जापान र पूर्वी एसियामा लोकप्रिय यो लोककथाले मानिसको अकर्मण्य दिमाग कसरी समूह–उन्माद (Mass Hysteria) को शिकार हुन्छ भन्ने देखाउँछ । एकदिन जंगलमा एउटा खरायो ठुलो बेलका रुखमुनि सुतिरहेको थियो। अकस्मात् माथिबाट एउटा बेल खस्यो-‘ड्याम्म!’ खरायो तर्सिएर आँत्तिदै उठ्यो । उसले अगाडि पछाडि हेर्दै नहेरी करायो, ‘लौन पृथ्वी फुट्यो ! अब के होला नि!’ अनि ऊ भाग्यो । बाटोमा भेटेका सबै खरायोलाई भन्यो- ‘भाग! भाग! पृथ्वी फुट्यो! अब यहाँ बस्यो भने मरिन्छ।“ सबै खरायाहरू सोच्दै नसोची भाग्न थाले । खराया आँत्तिएर भागेको देखेर हरिण, बँदेल, हात्ती सबै सिङ्गो जंगलका जन्तु केही बिचारै नगरि बिना कुनै प्रमाण हल्लाकै भरना खरायाका पछाडि दौडिन थाले। कसैले पनि ‘पृथ्वी कसरी फुट्यो? कसले देख्यो?“ भनेर सोच्ने विवेक राखेनन्। समाज (जंगल) पूर्ण अराजक र त्रसित बन्यो।

अन्त्यमा एउटा बुद्धिमान घोडाले सबैलाई रोकेर सोध्यो-‘पृथ्वी कहाँ फुट्दैछ? कसले देख्यो?’तब हेर्न जाने निधो भयो। खोज्दै गए। जाँदा खरायो सुतेको रुखमुनि पुगे। त्यहाँ त पाकेको बेल खसेको रहेछ।’ यी दुवै लोककथाले आजको नेपाली समाजको सत्यलाई पुष्टि गर्छन् । हल्ला, अफवाह, रिस, आवेग, भावनाका पीँधमा बलेको अराजकताको आगो र डरले मानिसको सोच्ने क्षमता (Critical Thinking) सुकेको छ। नेपालीहरु सामाजिक संजालमा बौलाएर गाली गर्छन्, झुठो खेती गर्छन् । कसैलाई देवता बनाउँछन्, कसैलाई राक्षस बनाउँछन् । जब आफ्नो स्वार्थ पुरा हुँदेन आफैँले बनाएको देवतामा पिसाब गर्छन् । ढाँट र फरेबीहरु साधु बनेर आउँछन्, कम्बल भित्र रक्सी पिउँछन् ।

नेपालीहरुसँग अहिले करोडौंका गाडी छ्न्, महल छन्, लाखका रक्सीका बोतल छन्, डिग्री छन्, सेतै फुलेका कपाल सहितका जागीर छन् । तर ‘सोच्ने दिमागमा अभिमान, पद, सम्पति, बदलाको भावना, विदेशीका मन्त्र र मादक पदार्थले भोटे ताल्चा (पहिला चीनबाट आउने ताल्चालाई भोटे ताल्चा भनिन्थ्यो) लागेको छ। जब मानिसले सोच्न छाड्छ, ऊ सत्यको खोजमा होइन, हल्लाको गति (Velocity of Rumor) सँगै दौडिन थाल्छ। कति राम्रो हाम्रो आफ्नै पनि उखान छ। ‘कागले कान लग्यो भनेर कागका पछाडी नकुद्नुहोस, कान छाम्नुहोस् ।“ देश आजसम्मकै कठिन भूराजनीतिक चुनौतीको सामना गरिरहेको छ । हाम्रो कर्तव्य राष्ट्रिय एकता निर्माण गर्ने हो विभाजन गर्ने होइन।