सरकारलाई रवि लामिछानेको आग्रहः सुनसरी घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन होस्


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी सभापति रवि लामिछानेले मंगलबार विज्ञप्ति जारी गरी कुनै पनि समस्या वा विवादको समाधान हिंसाबाट सम्भव नभएको उल्लेख गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका हुन् ।

साथै, अफवाह र उत्तेजनाबाट टाढा रहन आमनागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवाला पक्षसँग पनि उनले अपील गरेका छन् । सभापति लामिछानेले संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, आमनागरिकको जिउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्यीकरण गर्न सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको उल्लेख गरेका छन् ।

उनले यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।