देवानगञ्ज घटनामा सर्वपक्षीय समिति गठन गरी संवाद थाल्न राप्रपा अध्यक्ष लिङ्देनको सुझाव, दोषीलाई नछाड्न आग्रह


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार विज्ञप्ति जारी गरी घटनामा एक युवाको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह उनले गरेका छन् ।

उनले घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगबाट छानबिन गरी हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् । दण्डहीनताको संस्कृतिले यस्ता घटना दोहोरिन सक्ने भन्दै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने उनको भनाई छ ।

विज्ञप्तिमा तराई–मधेसका विभिन्न क्षेत्रमा चाडपर्व वा धार्मिक अवसरका बेला पटक–पटक तनाव, हिंसा र साम्प्रदायिक विवाद हुने क्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

यस्ता घटनाको कारण, सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वबारे गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्दै सर्वपक्षीय समिति गठन गरी संवाद सुरु गर्नुपर्ने माग पनि गरिएको छ।

राप्रपाले हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति स्वीकार्य नभएको स्पष्ट गर्दै धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, विधिको शासन र नागरिक सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग आग्रह गरेको छ। साथै, संवेदनशील परिस्थितिलाई ध्यानमा राखी सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न सबै पक्षलाई अपील गरेको छ।