डा. केसीको चिन्ता मेडिकल कलेजहरूको गुणस्तर कसरी बढाउने भन्ने विषयमा केन्द्रित हुनुपर्छ


डा. रवि मोहन ढकाल ।

डा. गोविन्द केसी. सरले स्वास्थ्य क्षेत्रमा दिनुभएको योगदान अतुलनीय छ। उहाँकै कारणले कैयौं सर्वसाधारणका छोराछोरीले स्वास्थ्य शिक्षामा उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएका छन् ।

तर अहिले नेपालमा अर्को यथार्थ पनि छ। नेपालमा पर्याप्त एमबीबीएस सिट नहुँदा मेरा छिमेकी दाजुले आफ्ना छोरालाई विदेश पठाउनुभयो । मेरा एक अग्रज डा. सहकर्मीले आफ्ना एकमात्र सन्तानलाई एमबीबीएस पढ्न विदेश पठाउनुपर्यो । अर्का एक सहकर्मी साथी भने आउँदो वर्ष छोरालाई विदेश पठाउनुपर्ने हो कि भनेर बेला–बेलामा चिन्ता व्यक्त गर्नुहुन्छ । यी त हाम्रो समाजका प्रतिनिधि पात्र मात्र हुन् । यस्तै हजारौँ विद्यार्थी स्वास्थ्य शिक्षा अध्ययन गर्न विदेशिएका छन्। उनीहरूसँगै प्रतिविद्यार्थी करिब ६०–७० लाख रुपैयाँ पनि विदेशिने गरेको छ।

आफ्ना सन्तानलाई देशमै पर्याप्त एमबीबीएस सिट नहुँदा विदेश पठाउनु बाध्यता बनेको छ । देशमा एमबीबीएस सिट कम गर्दैमा डाक्टर उत्पादन कम हुने होइन । अब अर्थतन्त्र र शिक्षाबीच सन्तुलन कायम गर्नु आवश्यक छ। मेरो विचारमा, केसी सरको चिन्ता सिट बढ्नु वा नबढ्नुमा भन्दा पनि मेडिकल कलेजहरूको गुणस्तर कसरी बढाउने भन्ने विषयमा केन्द्रित हुनुपर्छ ।

हाम्रो लक्ष्य यस्तो हुनुपर्छ कि कडा मापदण्ड, प्रभावकारी नियमन र निरन्तर अनुगमनका साथ मेडिकल कलेजहरूको संख्या र गुणस्तर दुवै बढून्। मेडिकल कलेजहरू यस्ता बनून् कि यहाँ अध्ययन गर्न विदेशी विद्यार्थीहरूको आकर्षण अझ बढोस् । अहिले पनि केही संख्यामा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने गरेका छन् । त्यसैले मेरो धारणा छ-कडा मापदण्ड र प्रभावकारी निगरानीका साथ गुणस्तर र संख्या दुवै बढाउनु नै दीर्घकालीन समाधान हो । गुणस्तर पनि चाहिन्छ, अवसर पनि चाहिन्छ। यी दुवै एकअर्काका विकल्प होइनन्, पूरक हुन्।