-डा. गोविन्दशरण उपाध्याय ।
हरेक युगमा एउटा यस्तो आत्ममुग्ध पुस्ता देखापर्छ, जसलाई लाग्छ – इतिहास उसैबाट सुरु भएको हो, सत्यको अन्तिम ठेक्का उसैसँग छ र समाजले उसले तोकेको दिशामै हिँड्नुपर्छ । यस्तो पुस्ताले संवाद गर्दैन, निर्णय सुनाउँछ, प्रश्नको उत्तर दिँदैन, प्रश्नकर्तालाई शत्रु घोषणा गर्छ । उसले राष्ट्र, धर्म, संस्कृति, ज्ञान र जनताको नाम लिन्छ, तर ती सबैलाई आफ्नो निजी स्वार्थको भर्याङ बनाउँछ ।
तर इतिहासको फैसला स्पष्ट छ- ‘म नै हुँ’ भन्ने प्रत्येक व्यक्ति, समूह र पुस्ता अन्ततः विस्थापित भएको छ । आफूलाई अजेय ठान्ने विश्व विजयी सम्राटहरू माटो भए । आफूलाई इतिहासभन्दा माथि ठान्ने शासकहरू इतिहासका चेतावनी बने । आज शक्तिको शिखरमा बसेकाहरू पनि भोलि स्मृतिको किनारमा पुग्नेछन् । सायद कतिलाई इतिहासले पनि चिन्ने छैन । शरीर माटोमा मिल्छ; पद खोसिन्छ; शक्ति हस्तान्तरण हुन्छ तर अन्यायको दुर्गन्ध पुस्तौँसम्म बाँकी रहन्छ ।
अहङ्कारी शक्तिको सबैभन्दा ठूलो भ्रम के हो भने उसले जनताको मौनतालाई समर्थन ठान्छ । भयले बन्द भएको मुख सहमतिको प्रमाण होइन । जीविकाको बाध्यताले झुकेको शिर सम्मानको चिह्न होइन । अवसरको प्रतीक्षामा रहेको असन्तोषलाई समाप्त भएको विरोध सम्झनु मूर्खता हो । इतिहासमा कुनै पनि दमनकारी संरचना सधैँ टिकेको छैन। प्रश्न यति मात्र हो- त्यो ढल्दा समाजले कति ठूलो मूल्य चुकाउनुपर्छ?
आज समाजमा एउटा खतरनाक प्रवृत्ति बढिरहेको छ – आफूबाहेक सबैमा खराबी मात्र देख्ने । यस्तो दृष्टिकोण आलोचनात्मक चेतना होइन, मानसिक विष हो र मानसिक रोग पनि । निरन्तर अरूलाई तुच्छ, भ्रष्ट, अज्ञानी, पिछडिएको वा शत्रु प्रमाणित गर्न खोज्ने मानिस अन्ततः आफ्नै घृणाको खाडलमा खस्छ । जसको राजनीतिक ऊर्जा घृणाबाट आउँछ, उसले समाज निर्माण गर्न सक्दैन । जसको धार्मिकता द्वेषमा टिकेको छ, उसले अध्यात्मको नाम लिन मिल्दैन । जसको विद्वत्ता अरूलाई अपमानित गरेर मात्र चम्किन्छ, उसको ज्ञान खोक्रो हुन्छ ।
निजी स्वार्थका लागि धार्मिक आस्था, सामाजिक सद्भाव र प्राचीन ज्ञानपरम्परामाथि प्रहार गर्नेहरूलाई आफू आधुनिक, प्रगतिशील वा क्रान्तिकारी भएको भ्रम हुन सक्छ । तर सभ्यता ध्वस्त पार्नु प्रगति होइन । स्मृति मेटाउनु मुक्ति होइन । परम्पराको आलोचना आवश्यक छ, तर आलोचना र विनाश एउटै कुरा होइनन् । सुधार र उन्मूलनबीच अन्तर छ । जुन आन्दोलनले कुनै समुदायलाई आफ्नो इतिहासप्रति लज्जित बनाउँछ, त्यसले उसलाई स्वतन्त्र होइन, स्मृतिविहीन बनाउँछ ।
स्मृतिविहीन र इतिहासको निरन्तरता नभएको समाजमाथि शासन गर्न सजिलो हुन्छ । आफ्नो भाषा, संस्कृति, दर्शन, धर्म र इतिहासप्रति अविश्वास गर्ने मानिस बाह्य बौद्धिक नियन्त्रणको सजिलो शिकार बन्छ । उसले आफ्नो घर भत्काएर अर्काको झ्यालबाट संसार हेर्न थाल्छ । अन्ततः उसले न आफ्नो पहिचान जोगाउन सक्छ, न अर्काको पूर्ण स्वीकृति प्राप्त गर्न सक्छ । अहिलेको डिजिटल पुस्ताले यस्तो भूल नगरोस् ।
कुनै प्राचीन संस्कृति वा ज्ञानपरम्परा नष्ट गर्ने अभियानका संयोजक र मतियारहरूले सोच्नुपर्छ – उनीहरू कसको भविष्य निर्माण गरिरहेका छन्? संस्कृतिको हत्या केवल पुराना ग्रन्थ जलाउनु होइन, नयाँ पुस्तालाई आफ्नो मूलबाट सधैंका लागि विलग पनि हो । जब कुनै समाजका विद्वान् र बालबालिकाले आफ्ना पूर्वजका उपलब्धि, कमजोरी, सङ्घर्ष र ज्ञानबारे अरूकै आँखाबाट मात्र पढ्न थाल्छन्, त्यो समाज राजनीतिक रूपमा स्वतन्त्र भए पनि बौद्धिक रूपमा पराधीन हुन्छ ।
आफ्नो संस्कृतिको रक्षा गर्नु भनेको अरूलाई घृणा गर्नु होइन । आफ्नो धर्मप्रति आस्था राख्नु भनेको अर्को धर्मको अस्तित्व अस्वीकार गर्नु होइन । आफ्नो ज्ञानपरम्परालाई सम्मान गर्नु भनेको आधुनिक विज्ञानलाई नकार्नु होइन । तर आधुनिकताको नाममा आफ्नै सभ्यतालाई गाली गर्ने र परम्पराको नाममा अरूलाई दबाउने दुवै प्रवृत्ति समान रूपमा विकृत छन् । नेपालको बामपन्थी पुस्ताले यस्तो अपराध गरेको छ । धर्मपरिवर्तन गर्नेहरूले यस्तो अपराध गरिरहेका छन् ।
नेपाली समाज सहअस्तित्वको बलियो जगमा उभिएको छ । सहअस्तित्व कमजोरहरूको सम्झौता होइन, सभ्यहरूको विवेक हो । यस पृथ्वीमा हरेक जीवलाई आफ्नो जीवन प्रिय छ । मानिसको जीवन मात्र मूल्यवान् र अरूको जीवन साधन हो भन्ने सोच जैविक अहङ्कार हो । चाहे मानिस होस्, पशु होस् वा प्रकृतिको कुनै अन्य जीव – उसको अस्तित्व केवल हाम्रो उपयोगिताको वस्तु होइन । वैदिक संस्कृतिले सहअस्तित्वमा विश्वास गर्छ तर सहअस्तित्वमा विश्वास नगर्नेहरूको सङ्गतले आफुप्रति अविश्वास बढाउँछ । अहिलेको नेपाली समाजमा मानसिक र बौद्धिक आन्तरिक सङ्घर्षमा फंसेको छ । वैदिकहरू वैदिकताप्रति संदेश गर्छन् । बामपन्थीहरू बुद्धवादको खोलमा संस्कृतिप्रेमी बन्ने जालझेल खेल्छन् ।
अरूको अस्तित्व नष्ट गरेर आफ्नो अस्तित्व सुरक्षित हुन्छ भन्ने विश्वास मानव इतिहासको सबैभन्दा घातक भ्रम हो । हजारौँ मानिस मारेर कुनै विजेताले आफ्नो आयु एक मिनेट पनि थप्न सकेको छैन । युद्ध जित्ने पनि मर्छ, युद्ध हार्ने पनि मर्छ । सत्ता जोगाउन हत्या गर्ने पनि मर्छ, सत्यका लागि मारिने पनि मर्छ । भिन्नता यति मात्र हो – कसैको मृत्यु भय र घृणाको स्मृति बन्छ, कसैको मृत्यु साहस र मानवताको प्रतीक बन्छ । नेपालीको मौलिक सभ्यता नष्ट गरेरमात्र मोडर्न भइन्छ भन्ने अन्धविश्वास फैलाउनेहरू पनि अजरअमर छैनन् । जब मृत्यु निश्चित छ, तब हत्याको अर्थ के? जब पद अस्थायी छ, तब अन्यायको औचित्य के? जब इतिहासले सबैलाई कठघरामा उभ्याउँछ, तब झूटको साम्राज्य किन? आफ्ना केही वर्षको सुविधा सुरक्षित गर्न अरूको पुस्तौँको भविष्य नष्ट गर्नु राजनीतिक बुद्धिमत्ता होइन, नैतिक अपराध हो।
आज विज्ञान र प्रविधिले मानिसलाई अभूतपूर्व शक्ति दिएको छ । कृत्रिम बुद्धिमत्ता, जैविक प्रविधि, जीन सम्पादन, स्वचालित हतियार र आणविक प्रणालीले मानिसलाई देवतासमान क्षमता दिएको छ तर देवतासमान विवेक दिएका छैन । यही हाम्रो सभ्यताको सबैभन्दा ठूलो संकट हो । विज्ञानले मानिसलाई अजरअमर बनाउने सम्भावनाको खोजी गर्न सक्छ, तर उसलाई करुणाशील बनाउने औषधि आविष्कार गरेको छैन । प्रविधिले शरीरको आयु बढाउन सक्छ, तर लोभको आयु घटाउँदैन । कृत्रिम बुद्धिमत्ताले विशाल सूचना प्रशोधन गर्न सक्छ, तर न्यायको अन्तिम निर्णय दिन सक्दैन । ज्ञान बढिरहेको छ तर विवेक घटिरहेको छ । शक्ति विस्तार भइरहेको छ तर उत्तरदायित्व संकुचित भइरहेको छ।
विज्ञान आफैँ न अपराधी हो, न उद्धारकर्ता । विज्ञान मान्छेको बुद्धिले निर्माण गरेको उपकरण हो । प्रश्न उपकरणको होइन, प्रयोगकर्ताको चरित्रसंग जोडिएको छ र उत्तर पनि। चक्कुले फल काट्न पनि सक्छ र घाँटी काट्न पनि । आणविक शक्तिले अस्पताल चलाउन पनि सक्छ, सहर खरानी बनाउन पनि सक्छ । कृत्रिम बुद्धिमत्ताले शिक्षा विस्तार गर्न पनि सक्छ, झूट र नियन्त्रणको अभूतपूर्व साम्राज्य बनाउन पनि सक्छ । सायद अहिलेको पुस्ताले झूट र सत्यका विचमा सहीसही जानकारी प्राप्त गर्न डिजिटल आस्थामा प्रश्न गर्ने अभ्यास गर्नु पर्ने छ । डिजिटल विश्वमा विश्वास र अविश्वास दूवैको सम्भावना लुकेको छ ।
जब क्रोधी, लोभी, सभ्यताद्रोही र अहङ्कारी मानिसको हातमा उन्नत विज्ञान पुग्छ, सभ्यता संकटमा पर्छ । अज्ञानी दुष्ट सीमित हानि गर्छ तर प्राविधिक रूपमा दक्ष दुष्टले सम्पूर्ण मानवजातिलाई संकटमा पार्न सक्छ । त्यसैले विज्ञानको विकाससँगै नैतिक दर्शन, आत्मसंयम र मानवीय उत्तरदायित्वको विकास नभए प्रगति आत्मविनाशको तीव्र बाटो बन्न सक्छ । मानिस अमर भयो भने पनि समस्या समाप्त हुनेछैनन् । बरु लोभी मानिस अमर भयो भने लोभ पनि दीर्घजीवी हुनेछ । तानाशाह अमर भयो भने तानाशाही स्थायी हुन सक्छ । त्यसैले मानिसलाई अमरत्वभन्दा पहिले चरित्र चाहिन्छ, शक्तिभन्दा पहिले संयम र ज्ञानभन्दा पहिले विवेक चाहिन्छ ।
राष्ट्रको अवस्था पनि यही हो । राष्ट्र जनताको साझा सुरक्षा, न्याय र सम्मानका लागि बनेको संस्था हो । तर जब राष्ट्र केही व्यापारी, दलाल, भ्रष्ट प्रशासक, अवसरवादी नेता र बौद्धिक सेवकहरूको नियन्त्रणमा पुग्छ, त्यो जनताको राष्ट्र रहँदैन र लोभी मानिसहरूको कानुनी सिन्डिकेट बन्छ । त्यहाँ कानुन न्यायका लागि होइन, आफ्ना मानिस बचाउन प्रयोग हुन्छ । राज्यका स्रोत सार्वजनिक कल्याणका लागि होइन, सीमित समूहको सम्पत्ति बढाउन खर्च हुन्छन् । राष्ट्रवाद जनताको जीवन सुधार्ने प्रतिबद्धता होइन, आलोचकको मुख बन्द गर्ने नारा बन्छ । संविधान नागरिकको अधिकारपत्र होइन, सत्ताधारीको सुविधाअनुसार व्याख्या गरिने दस्तावेज बन्छ।
राष्ट्रको महानता शासकको सुरक्षा घेराले नापिँदैन अपितु सामान्य नागरिक कति सुरक्षित छ भन्ने आधारमा नापिन्छ । विकास अग्ला भवनले होइन, विद्यालय, अस्पताल, न्यायालय र सार्वजनिक संस्थाप्रतिको विश्वासले मापन हुन्छ र प्राचीन संस्कृतिले निर्माण गरेको सभ्यताको सुरक्षाले प्रमाणित गर्छ । लोकतन्त्र चुनावले मात्र प्रमाणित हुँदैन; विरोध सहन सक्ने क्षमताले प्रमाणित हुन्छ । “म नै हुँ” भन्ने पुस्ताको पतन अवश्यंभावी छ । तर त्यसको पतन मात्र पर्याप्त छैन । त्यसको ठाउँमा अर्को आत्ममुग्ध पुस्ता आयो भने नाम फेरिन्छ, अन्याय फेरिँदैन । त्यसैले आजको संघर्ष व्यक्ति परिवर्तनको मात्र होइन, चेतना परिवर्तनको हुनुपर्छ।
हामीले एउटा यस्तो पुस्ता निर्माण गर्नुपर्छ, जसले शक्ति पाएर नमातोस्, असहमति सुनेर नआत्तियोस्, संस्कृतिको रक्षा गर्दा घृणा नफैलाओस् र विज्ञानको प्रयोग गर्दा मानवता नबिर्सोस् । अन्यथा सभ्यता बाहिरबाट विकसित देखिए पनि भित्रबाट बर्बर हुनेछ । अन्ततः सबै माटोमै मिल्ने हुन् । कसैले त्यही माटोलाई रगतले भिजाएर जान्छ भने कसैले ज्ञान, करुणा र सहअस्तित्वको बीउ रोपेर । इतिहासले पदमा बसेकाहरूको सूची मात्र राख्दैन अपितु उसले कसले जीवन जोगायो र कसले जीवन कुल्चियो भन्ने हिसाब पनि राख्छ ।

प्रतिक्रिया