–डा. बाबुराम भट्टराई ।
नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्वहरू बिपी कोइराला (श्रावण ६) र पुष्पलाल (पिएल) श्रेष्ठ (श्रावण ७) को स्मृतिदिवस संगसंगै जस्तो पर्नु गजबको ऐतिहासिक संयोग हो। यस क्रममा नेपाली इतिहासको छोटो स्मरण गर्नु सान्दर्भिक हुनेछ ।हालको भौगोलिक सीमामा बाँधिएको नेपालको वस्तुपरक र तथ्यपरक इतिहास अझै लेख्न बाँकी छ।प्रत्येक कालखण्डका प्रमुख कार्यभारका हिसाबले सर्सर्ती भन्नुपर्दा यसका मुख्य तीन चरण छन्। पहिलो, भौगोलिक एकीकरणको चरण (सन् १७४२ देखि १८१५÷१६)। दोश्रो, लोकतान्त्रीकरणको चरण (सन् १९५१ देखि २०१५)। तेश्रो, सुशासन र समृद्धीकरणको चरण ( सन् २०१५ देखि यता)।
सिद्धान्ततः इतिहासका वास्तविक निर्माता तत्कालीन कालखण्डका आमजनता नै हुन्छन् । परन्तु प्रत्येक कालखण्डमा जनताको नेतृत्व गर्ने व्यक्तिहरूको भूमिका विशेष महत्वपूर्ण हुन्छ । साथै प्रत्येक कालखण्डका जनता र नेताहरूले आफुभन्दा अघिका जनता र नेताहरूले निर्माण गरेको आधार वा जगमा टेकेर नै नयाँ चरणको ऐतिहासिक कार्यभार सम्पन्न गरेका हुन्छन् र गर्नुपर्दछ। यसैलाई इंगित गर्दै महान् वैज्ञानिक न्यूटनले भनेका हुन् ’ I can see farther because I stand on the shoulder of giants( ’मैले परसम्म देख्न सक्छु किनकी म महामानवहरूको काँधमा उभिएको छु।’)
त्यस हिसाबले आधुनिक नेपाली इतिहासको पहिलो कालखण्डमा पृथ्वीनारायण शाहदेखि भीमसेन थापासम्मका नेताहरूले पचास बढी राज्यमा विभाजित भूखण्डलाई एउटै केन्द्रिकृत राज्यमा गाभेर देशको भौगोलिक एकीकरणको नेतृत्व (भलै त्यतिवेला नेपाली जनताको चेतना संघीय राज्यको तहसम्म उठिसकेको थएन !) गरेको ऐतिहासिक तथ्यलाई स्वीकार्न र सम्मान गर्न कोही हिच्किचाउनु हुन्न।
दोश्रो, लोकतन्त्रीकरणको कालखण्डमा १०४ वर्ष (सन् १८४६ देखि १९५१ सम्म)को निरंकुश राणातन्त्रको अन्त्य गरेर शाहवंशीय राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्रको मुख्य जग फरक फरक वैचारिक धारबाट बिपी र पुष्पलालले नै खनेका हुन् । परन्तु शाहवंशीय राजतन्त्रले पटकपटक लोकतन्त्रको हत्या गरेर आफ्नै एकतन्त्रीय शासन लादेपछि सशस्त्र जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतको बलमा हाम्रो पुस्ताले सन् २०१५ मा निर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर देशलाई लोकतान्त्रीकरणको सापेक्ष पूर्णतामा पुर्याएको हो।
तेश्रो, सुशासन र समृद्धीकरणको चरण शुरू भएको भर्खर एक दशक मात्र भएको र पछिल्लो जेनजी विद्रोहपछि निर्वाचित युवबाहुल्य नयाँ राजनीतिक शक्तिको सरकारले भर्खरै कार्यभार सम्हालेकाले यो कसरी अघि बढ्छ केही समय पर्खेर हेर्नुपर्ने स्थिति छ ।
यो समग्र सन्दर्भमा अहिले बिपी र पिएललाई किन विशेष महत्वकासाथ सम्झन र सम्मान गर्न जरूरी छ भने अन्य कुराहरूका अतिरिक्त उनीहरूले जस्तै कठीन र प्रतिकूल परिस्थितिमा पनि आफ्नो वैचारिक–राजनीतिक प्रतिबद्धता र नैतिक आदर्शलाई परित्याग गरेनन्। उनीहरूको लोकतन्त्रप्रतिको निष्ठा नै हाम्रो पुस्ताको प्रेरणाको श्रोत रहिरह्यो। अबको नयाँ पुस्ताले पनि बिगतका पुस्ताको योगदान र अनुभवमा टेकेर अघिबढ्नुपर्नेछ । ती महान् ऐतिहासिक ब्यक्तित्व बिपी र पिएलप्रति हार्दिक श्रद्धासुमन !

प्रतिक्रिया