‘लज्जावती’ को बहुप्रतीक्षित गीत ‘दिलको मोटर’


काठमाडौँ । आगामी नेपाली चलचित्र ‘लज्जावती’ को बहुप्रतीक्षित गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । नयाँ बानेश्वरस्थित आइएनआई सिनेमा हलमा आयोजित विशेष कार्यक्रममा चलचित्र निर्माण टोली, कलाकार तथा सञ्चारकर्मीको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो।

गीतमा नेपाल आइडल विजेता रवि ओड र सहिमा श्रेष्ठको स्वर रहेको छ भने सङ्गीत संयोजन बाबुल गिरीले गरेका छन् । गीतको छायाङ्कन दिव्य राज सुवेदी, कलर ग्रेडिङ श्याम कुँवर तथा नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्। कोरियोग्राफीमा रामजी लामिछाने र कृष्ण परियारको सहकार्य रहेको छ।

चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य र प्रिया रिजाललगायत कलाकारहरूको अभिनय रहेको छ। कार्यक्रममा निर्देशक राजबहादुर साने, निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोक्काको समेत उपस्थिति थियो।

सङ्गीतकार बाबुल गिरीले चलचित्रमा आबद्ध हुने अवसर दिएकोमा निर्माण टोलीप्रति आभार व्यक्त गर्दै सङ्गीतमा निकै मेहनत गरेको बताए। चलचित्रले दर्शकको अपेक्षाभन्दा उत्कृष्ट मनोरञ्जन दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
कोरियोग्राफर कविराज गहतराजले गीतलाई उत्कृष्ट बनाउन सम्पूर्ण टोलीले अथक मेहनत गरेको उल्लेख गर्दै आफ्ना अघिल्ला सिर्जनाजस्तै यस गीतलाई पनि दर्शकले मन पराइदिने विश्वास व्यक्त गरे।

कलाकार मुकुन भुसालले चलचित्रलाई माया, साथ र समर्थन गर्न आग्रह गर्दै गीत मन परे सामाजिक सञ्जालमा रिल्स र टिकटक बनाएर प्रचारमा साथ दिन दर्शकसँग अनुरोध गरे।

अभिनेत्री जानुका विश्वकर्माले चलचित्रमा अभिनय गर्ने अवसर पाएकोमा निर्माण टोलीप्रति धन्यवाद व्यक्त गर्दै आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र हेरेर साथ र सहयोग गर्न आग्रह गरिन्।

कलाकार श्रीकृष्ण निरौलाले चलचित्रमा काम गर्ने अवसरका लागि निर्माण पक्षलाई धन्यवाद दिँदै सम्पूर्ण टिमको मेहनत र समर्पणको प्रशंसा गरे।

कलाकार मेनुका माझीले करिब आठ–नौ वर्षपछि चलचित्रमा काम गर्ने अवसर पाएको बताउँदै धेरै सङ्घर्ष र मेहनतपछि यो अवसर प्राप्त भएको उल्लेख गरिन्। उनले निर्माण टोलीप्रति आभार व्यक्त गर्दै सहकलाकार श्रीकृष्ण निरौलासँग काम गर्दा निकै सहज अनुभव भएको र चलचित्र ‘लज्जावती’ दर्शकको मन जित्न सफल हुने विश्वास व्यक्त गरिन्। साथै चलचित्रलाई आफ्नो ठाउँबाट साथ र हौसला दिन सबैसँग आग्रह गरिन्।

चलचित्रका निर्देशक राजबहादुर सानेले चलचित्र निर्माणको यात्रा चुनौतीपूर्ण भए पनि सम्पूर्ण टिमको मेहनतले उत्कृष्ट चलचित्र तयार भएको बताए। आफूले चलचित्रको सैद्धान्तिक अध्ययन भारतमा गरेको र ‘वृन्दावन’ चलचित्रदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै ‘लज्जावती’ आफ्नो परिपक्व सिर्जनामध्ये एक रहेको बताए।

यसैगरी, चलचित्रका बजार व्यवस्थापन निर्देशक विश्वकुमार कार्कीका अनुसार ‘लज्जावती’ ग्रामीण र शहरी परिवेशलाई सुन्दर ढंगले समेटिएको नवीन प्रेमकथामा आधारित चलचित्र हो।

प्रेम, भावना, सम्बन्ध र समकालीन सामाजिक परिवेशलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको यस चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जनका साथै भावनात्मक अनुभूति दिलाउने विश्वास उनले व्यक्त गरे। दर्शकको रोजाइअनुसार मनोरञ्जन, सङ्गीत, प्रेम र सशक्त कथावस्तुको समिश्रण भएकाले चलचित्रले सबै वर्गका दर्शकको मन जित्ने अपेक्षा निर्माण टोलीको रहेको छ।