गाडीले गेट त छेक्न सकिएला तर जन–आवाजहरु छेक्न सकिन्नः भीष्मराज आङ्देम्बे


-भीष्मराज आङ्देम्बे

लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो । तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्छ । सोमबार प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगै सञ्चारगृहहरू कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएका घटनाले यही प्रश्न उब्जायो– के सरकारले अब आलोचनात्मक आवाज नै बन्द गर्न खोजेको हो ?


गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास हो । यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी दलका नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न ग¥यौ भने परिणाम भोग्नुपर्छ’ भन्दै तर्साइएको हो ।
यो कुनै सामान्य संयोग पनि होइन । यतिबेला सहकारी पीडित सडकमा छन् । मिटर ब्याज पिडित तराई–मधेशदेखि न्याय खोज्दै काठमाडौं तर्फ आइरहेका छन् । सुकुम्बासी समस्या झन् जटिल बन्दै गएको छ । राज्यपक्षबाट भएको दुव्र्यवहारले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरे । हिजो १०० दिनमै रोजगारी दिने बाचा गर्ने नेताको दलले शक्तिशाली सरकार चलाइरहँदा पनि बाचा पूरा गर्नेतर्फ अग्रसर नहुँदा निराश भएर सर्लाहीका विवेक मण्डलले पनि आत्मदाह गरे ।

यसअघि एकपछि अर्को सुकुम्बासीले राज्य दमन सहन गर्न नसकी आत्महत्या गरेको कारूणिक दृष्यहरू सार्वजनिक भए । बेरोजगारी समस्या र सुशासनका प्रश्न दिनप्रतिदिन गहिरिँदै गएका छन् । यी विषयमा जवाफ दिन नसकेको सरकार प्रश्न गर्ने सञ्चारमाध्यम र प्रतिपक्ष दलका नेतामाथि नै दबाब सिर्जना गर्ने शैलीतर्फ उन्मुख देखिएको छ । यो लोकतन्त्रको बाटोबाट सत्ताको नेतृत्वमा पुगेका प्रधानमन्त्रीजीले मानसपटलमा उत्तर कोरिया बोकेर हिँड्दाको पराकाष्टता हो ।


स्मरण होस्, सञ्चारमाध्यमहरू र प्रतिपक्ष सरकारको शत्रू होइनन् । उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही जस्ताको तस्तै देखाउने ऐना हुन् । ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन । र, भ्रम पनि नरहोस्– गेटअगाडि गाडी राखेर स्वतन्त्र आवाज रोक्न सकिन्छ भनेर। इतिहासले पुष्टि गरेको छ कि गेट छेकिए पनि प्रश्नको बाटो छेक्न सकिन्न भनेर ।