गाडी–काण्ड गराएर ‘अटेन्सन डाइभर्ट’ गर्न खोजियो


सुधीर शर्मा ।

आज बिहानैबाट कान्तिपुर, अनलाइनखबर, हिमालय टिभीलगायतका सञ्चार–गृह एवं प्रतिपक्षी पार्टीका प्रमुख गगन थापाको घरमा एकसाथ गाडी तेर्स्याएर जुन प्रायोजित नाटक मञ्चन गरियो, त्यसको खास उद्देश्य प्रश्न गर्नेहरुको मुख थुन्नु थियो । अर्को उद्देश्यचाहिं, diversionary tactics सँग सम्बन्धित रहेको देखिन्छ । यो घट्नालाई सत्तारुढ रास्वपा स्वयंले ‘सञ्चारकर्मीहरुले निर्भिक रुपमा काम गर्ने वातावरणमाथि धावा बोल्न वा उनीहरुलाई मनोवैज्ञानिक दवावमा राख्न गरिएको शंकास्पद र रहस्यमयी गतिविधि’ भनेको छ । सरकार रास्वपाकै छ, उससँग सूचना पनि होला, त्यसैले आधिकारिक वक्तव्यमै यति भनिसकेपछि त्यो शंकास्पद गतिविधि कसले गरेको रहेछ ? यो कुरा पनि खुलाइदिए उत्तम हुन्थ्यो ।

यो किन पनि भने, त्यसरी शंकास्पद ढंगबाट राखिएको एउटा गाडीका मालिक त रास्वपाकै नेता रहेछन् । जहाँसम्म diversionary tactics को कुरा छ, योचाहिं राजनीतिक चालबाजहरुले बेलाबखत खेल्ने पुरानै मनोवैज्ञानिक अस्त्र हो । यसको उद्देश्य हुन्छ-मुलुकमा जुन मुद्दामाथि चर्को बहस चलिरहेको हुन्छ, सरकारको आलोचना भइरहेको हुन्छ, त्यसलाई थाहै नपाई अर्कोतिर मोड्न खोज्नु !

हामीकहाँ अहिले बलपूर्वक विस्थापित सुकुम्बासीहरुको आँशुको भेल रोकिएको छैन । बागमतीदेखि कीर्तिपुर हुँदै खरिपाटी पुग्दासम्म उनीहरुको किस्ताबन्दीमा विचल्ली भइरहेको छ । सुकुम्बासीका पक्षमा आवाज उठाएको निहुँमा सक्कली जेनजी माजिद अन्सारीलाई पिट्दै, हुत्याउँदै, गालीगलौज गर्दै बिनापूर्जी कव्जामा लिइएको छ । गणेश नेपालीबाट सुरु भएको आत्मदाहको सिलसिलाले सम्पूर्ण राष्ट्र रोषमा छ ।

यी बिषयहरुले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाउन थालेपछि, यसैबेला गाडी–काण्ड गराएर ‘अटेन्सन डाइभर्ट’ गर्ने कोशिश गरिएको छ । सबैले थाहा पाउने गरी खुल्लमखुला ढंगबाट गरिएको यो हर्कतमार्फत् मिडियाको मुख थुन्न खोजिएको त छँदैछ ।
तर सूत्राधारहरुले कस्तो नबुझेको-यस्ता पुराना फर्मूलाहरु अब काम लाग्दैनन्, जो २०६१ माघमै आउटडेटेड भइसकेका छन् !

पत्रकार सुधीर शर्माको फेसबुकबाट