निजामती कर्मचारी अस्पतालका फार्मेसी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालका फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी करिब ३ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।

बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अस्पतालमा औषधि आपूर्ति नै नभई बिल बिजक सफ्टवेयरमा इन्ट्री गरेको, कम्प्युटरमा स्टक देखाए पनि यथार्थमा मौज्दात नरहेको तथा करोडौँका औषधि म्याद गुज्रेर स्टोर र भर्याङमा फालिएको उजुरीमाथि अनुसन्धान गर्दा ठूलो भ्रष्टाचार भएको पुष्टि भएको हो ।

आयोगले अस्पतालका फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दीपा ढुङ्गाना, लवेन्द्र कुँवर, दीपक सापकोटा, स्टोर किपरहरू विनोद पोखरेल, केशवराज न्यौपाने र शर्मिला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दीप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको हिनामिना र हानिनोक्सानी पुर्याउने बदनियत राखेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।